जिम्बाबे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जिम्बाबे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई

काठमाडाैं, ११ फागुन । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बाबे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले विदाई गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच सम्मान र शुभकामनासहित विदाई गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यस सम्मानले खेलाडीहरुलाई अझै राम्रो खेल्न प्रेरणा मिलेको र युवा खेलाडीका लागी उत्साह थपेको बताए । अबको पाँच वर्ष यही सरकारले निरन्तरता पाउने भन्दै क्षमताले भ्याएसम्म समग्र खेलको बिकासका लागि सरकारले प्रयास गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए ।

एउटा फुटबल र एउटा क्रिकेट रंगशाला बनाउन माग
कार्यक्रममा कप्तान पारस खड्काले समग्र खेलकुद बिकासका लागि सरकारी पहलको अपेक्षा गरेको बताए । उनले अबको पाँच वर्षसम्म कायम रहने सरकारले कम्तिमा एउटा फुटबल र एउटा क्रिकेट रंगशाला बनाउन माग गरे ।

प्रशिक्षक जगत टमाटाले प्रतियोगिताको यात्रा कठीन भए पनि नेपाली टिम पनि कमजोर नरहेको बताए । नेपाली टिम पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्यस्त रहेका कारण फिट भएको प्रशिक्षक टमाटाले प्रतिक्रिया दिए । नेपाली टिम शनिबार जिम्बावे प्रस्थान गर्नेछ ।

समुह बीमा नेपालसँगै जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । समुहका शीर्ष तीन टिम सुपर सिक्स चरणमा पुग्नेछन् । फागुन २० गतेबाट सुरु हुने प्रतियोगिता अघि नेपालले युएई र वेष्ट इण्डिजसँग अभ्यास म्याच पनि खेल्नेछ ।

नगद पुरस्कार वितरण
यसैबीच नामिवियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले पूर्वघोषित नगद पुरस्कार वितरण गरेको छ । नेपाली टोली नामिवियाबाट फर्किएपछि गत मंगलबार टिमलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक सदस्य, प्रशिक्षक र फिजियोलाई जनही तीन लाख दिने घोषणा गरेका थिए ।

सरकारले घोषणा गरेको जनही तीन लाख रुपैयाँ विश्वकप छनोट खेल्न जानुअघि शुक्रबार गरिएको बिदाई कार्यक्रममा टोलीका १४ सदस्य, प्रशिक्षक र फिजियोलाई प्रदान गरिएको हो । साथै मदन भण्डारी स्पोर्टस फाउण्डेसनले पनि सबै सदस्यलाई १–१ लाख नगद पुरस्कार प्रदान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);