काठमाडौँ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रही मुलुकका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । तराई क्षेत्रतर्फ बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ । विशेषगरी बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग एवं लुम्बिनी प्रदेशको पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, रात्रिकालीन समयमा पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ । हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ भने पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाकाअनुसार राति कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रतिकूल मौसमका कारण हुनसक्ने जोखिमबाट बच्न महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।




