काठमाडौँ । जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज देशका विभिन्न भू–भागमा वर्षा, मेघगर्जन र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रतर्फ वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । रातिको समयमा पनि देशभरको मौसममा साधारणतया बदली रहनेछ । हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ । तराईतर्फ मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।भारी वर्षा र मेघगर्जनको सम्भावना रहेका क्षेत्रहरूमा आवश्यक शतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।




