काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाई प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई सम्बन्धी छलफल गर्न विहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले आगामी सुनुवाईलाई प्रक्रियासम्मत ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । उहाँले सुनुवाईका लागि उजुरी दिने समयभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय छलफल महत्वपूर्ण हुने बताउनु भयो । उहाँले प्रस्तावित पदाधिकारीहरूको योग्यता, क्षमता, कार्ययोजना र प्रतिवद्धताबारे नागरिकले स्पष्ट रूपमा जानकारी पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक रूपमा व्यक्त गरिएका प्रतिवद्धताले सम्बन्धित पदाधिकारीलाई भविष्यमा थप जिम्मेवार बनाउने उहाँको भनाई छ ।उहाँले अमेरिकालगायतका मुलुकमा हुने संसदीय सुनुवाईको उदाहरण दिँदै योग्य उम्मेदवारको क्षमता र प्रतिवद्धता सार्वजनिक रूपमा परीक्षण हुने अभ्यासबाट नेपालले पनि सिक्नुपर्ने बताउनु भयो ।




