काठमाडौं ।
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले संसदीय सुनुवाई समितिले सुनुवाईका लागी प्रश्तावित व्यक्तिहरुको सम्बन्धमा विस्तृत अध्ययन र परीक्षणपछि मात्रै निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न विहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा समितिले प्रधानन्यायशीस सिफारिस भएको व्यक्तिलाई नै अयोग्य ठहर गरि अस्वीकार गरेको गर्दै सिफारिस भएका सबैलाई अनुमोदन गर्न आवश्यक नरहेको बताउनु भयो । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा योग्य व्यक्ति भनेर सिफारिस गरेको भएपनि समितिले आफ्नो संवैधानिक दायित्वअनुसार विस्तृत अध्ययन र परीक्षणपछि मात्रै निर्णय गर्नुपर्ने उहाँको भनाई छ । सुनुवाई समिति निकम्मा नभएको उल्लेख गर्दै उहाँले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्ने क्षमता राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले समितिमा आएका नामलाई स्वीकृति पनि गरेका छौँ, अस्वीकृत पनि गरेका छौँ । यो सुनुवाई समिति निकम्मा भएको छैन । यसले गलत मान्छेलाई अस्वीकार गरेको छ, प्रधान न्यायाधीश जस्तो सिफारिस भएको मान्छेलाई पनि तपाईँको पास गरेको छैन, स्विकृति गरेको छैन । त्यसैले अहिले हामीले निर्वाचन आयोगको आयुक्त र प्रमुख आयुक्त बनाउँदै गर्दाखेरि पनि राम्रो मान्छे, असल मान्छे लाई मात्रै अनुमोदन गर्नुपर्छ । सरकारले राम्रै मान्छे भनेर सिफारिस गरेको होला, सर्वोच्चमा काम गर्नुहुन्थ्यो रे, अध्ययन गर्न त बाँकी नै छ, राम्रै मान्छे हुनुहोला । तरपनि हामीले यो सुनुवाईको नि प्रावधान राखिसकेपछि असल मान्छेको बारेमा पनि हामीले जानकारी राख्नुपर्छ, सुनुवाई समिति मार्फत हामीले जनतालाई आश्वस्त गराउनुपर्छ कि यस्ता व्यक्तिहरु आएका छन् ।’
उहाँले सुनुवाइका लािग समितिको कार्यविधिअनुसार नै उजुरी संकलन, त्यसमाथि छलफल, उम्मेदवारसँग कार्ययोजना माग्ने तथा त्यसको मूल्यांकन गर्ने कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले हतार हतारमा अनुमोदन गर्ने कार्य गर्न नहुनेमा जोड दिनुभयो । कार्यविधि र कानूनी प्रक्रियाको पालना गरेमा समितिप्रति जनविश्वास बढ्ने उहाँको भनाई छ ।




