देशभर वर्षा र हिमपातको सम्भावना, कोशी र मधेसमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

देशभर वर्षा र हिमपातको सम्भावना, कोशी र मधेसमा भारी वर्षाको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल नेपालभरको मौसममा साधारणतया बदली रहेको छ । आज दिउँसो र राति देशका अधिकांश भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । तराईका थोरै स्थानमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ । विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने देखिएको छ । राति देशभरको मौसम साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । कोशी प्रदेशका धेरै स्थानहरूका साथै वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा र हिमपात हुने देखिन्छ । यसैगरी, मधेस प्रदेशसहित वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । रातिको समयमा कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply