काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्च नहुने परिपाटीको परम्परा अन्त्य गर्ने दाबी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथी छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पुँजीगत खर्च बढेसँगै राजश्व परिचालनमा पनि सकारात्मक प्रभाव पर्ने भएकोले आफूहरुको ध्यान पुँजीगत खर्च बढाउनेमा रहेको बताउनु भयो । उहाँकाअनुसार हालसम्म चालु आर्थिक वर्षको पुँजीगत खर्च करिव ३५ प्रतिशत मात्रै भएको छ । असार मसान्तसम्म यो ५० प्रतिशतभन्दा माथि पुग्ने आशा गरिएको उहाँले बताउनु भयो ।
अर्थमन्त्री वाग्लेले आगामी वर्ष पुँजीगत खर्चमा सरकारले उल्लेखनीय सुधार गर्ने उल्लेख गर्नुभयो । पुँजीगत खर्च बढाउन सरकारले रकमान्तरणको अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिने र आयोजना पूर्वतयारीलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनु भयो । अर्थमन्त्री डा वाग्लेले बजेटमा समावेश गरिएका कार्यक्रमहरूको प्रभाव आगामी आर्थिक वर्षदेखि देखिन थाल्ने बताउनु भयो ।




