निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैनः अर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैनः अर्थमन्त्री महत

काठमाडौं, २७ चैत्र । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताउनुभएको छ । सोमवार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताउनुभएको हो । उहाँले आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपग्ने बताउनु भयो ।

उहाँले वाह्य र स्थानीय लगानीलाई प्रवद्र्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गर्नुभयो । उहाँले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सकिने बताउनु भयो । उहाँले सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने बताउनु भयो । उहाँले सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो । उहाँले सरकार पुँजीगत खर्चलाई प्रभावकारी बनाउन आवश्यक उपाय अपनाउन आफू तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्ने प्रमुख प्राथमिकता हुनेछ । पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य छ । आयोजनामा काम समयमा नै नहुने,आयोजनाको लागत बढ्ने, काम अगाडी नबढ्दा आयोजनाको मूल्य धेरै भएको । समय पनि धेरै लाग्ने भएको छ । हाम्रो सम्पूर्ण ध्यान पुँजीगत खर्चलाई प्रभावकारी बनाउन जेजे उपाय अपनाउन सकिन्छ, हामी गर्छौं । त्यसो गर्दा अर्थतन्त्रमा राज्यको तर्फबाट पुँजी बाहिर आउँछ । आर्थिक गतिविधिलाई चालयमान बनाउन मद्दत पुग्छ । सँगसँगै राज्यको लगानीले मात्रै पुग्दैन । वाह्य र स्थानीय लगानीलाई प्रोमोट नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन सक्दैन । निजी क्षेत्र हाम्रो साझेदार हो । राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सक्छौँ । सरकारले सामाजिक र पूर्वाधारको विकास मुख्य रुपमा केन्द्रित हुने हो । आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा छ । निजी क्षेत्रको समस्या भनेको सरकारको समस्या हो । निजी क्षेत्र चलायमान नभएमा आर्थिक वृद्धि, राजश्व वृद्धि सम्भव छैन ।’

अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार तत्काल हुन्छ भन्ने भावना विकसित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गरी अर्थतन्त्रमा सुधार ल्याउन कुनै काम बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो । अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या देखिएपनि महत्वपूर्ण आर्थिक सूचकांकहरु सकारात्मक रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले उद्योग व्यवसायमा लगानीको वातावरण बन्न नसक्नु चिन्ताको विषय भएको भन्दै लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने बताउनु भयो । उहाँले बैंकको ब्याजदर लगायत अन्य विभिन्न व्यवसायीहरुका समस्या रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने विषयमा सरकार गम्भिर रहेको बताउनु भयो । उहाँले राजश्वको स्थिति चिन्ताजक रहेको भन्दै सरकारको लक्ष्य पूरा नहुने अवस्था रहेको बताउनु भयो । उहाँले राजश्व संकलन चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २८ प्रतिशतले कम भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र सुधार हुन्छ भन्ने भावना विकशित गर्नुपरेको छ । त्यसको लागि अर्थमन्त्रीको तर्फबाट कुनैपनि कसर बाँकी राख्नेछैन । सबैलाई यो विश्वास दिलाउन चाहन्छु । विदेशी मुद्रा सञ्चितिमा सकारात्मक अवस्थामा छौं । मूल्यको सूचकांक जुन छ पहिलाको भन्दा ज्यादा हो तर नियन्त्रणमै छ । कतिपय इन्डिकेटर आर्थिक सूचकांकहरु सकारात्मक छन् । पछिल्लो समय मुलुकभित्र लगानीको वातावरणमा नकारात्मक परिवेश सिर्जना भएको छ । चिन्ताको विषय हो । साना ठूला लगानीकर्ताले गरेको लगानीमा समस्या आएको छ । पछिल्लो समय बैंकको व्याजदर बढेको छ । पहिला ऋण लिएकाको व्याजदर माथि जाँदा रेट अफ रिटर्नमा समस्या । ऋण फिर्ता गर्न समस्या आएको छ । यो विषय सरकारले सम्बोधन गर्नुपर्ने विषय रहेको छ । यस विषयमा राष्ट्र बैंकसँग कुरा गरेका छौँ । राजश्वको स्थिति नकारात्मक छ । चाहेजस्तो उठेको छैन । लक्ष्यभन्दा कम छ । भन्सारमा गत वर्ष भन्दा २८ प्रतिशतले कम भएको छ । आन्तरिक करमा पनि समस्या देखिएको छ । राजश्वको स्थिति चिन्ताजनक छ ।’

अर्थमन्त्री महतले ऋण लिएर तिर्नु पर्दैन भन्नेकुरा राज्यले सहन नसक्ने बताउनु भयो । उहाँले आगामी बजेटमा निजी क्षेत्रको सल्लाह सुझाव अनुसार काम गर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);