काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, हिमपात र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराईका भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूका साथै वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । तराई क्षेत्रका हकमा मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा भने केही स्थानमा तातो लहर (लू) चल्न सक्ने सम्भावना रहेको छ ।
रातिको समयमा देशभर साधारणतया बदली रहनेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुने देखिएको छ । मधेस प्रदेशका साथै कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । साथै, कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ ।




