काठमाडौं ।
मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पारदर्शी समाज’ गठन गरिएको छ । पूर्वराजदुत दीपकुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो । समाजको सदस्यहरुमा वासु दाहाल, सन्तोष गिरी, सोमबहादुर थापा र मुमाराम खनाल रहेका छन् । संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन नागरिकस्तरबाट खबरदारी गर्ने जनाएको छ । समाजले भ्रष्टाचारजन्य घटनाका बारेमा तथ्यमा पुगेर अध्ययन, अनुसन्धान गर्ने जनाएको छ । अध्ययन तथा अनुसन्धान गरेका प्रतिवेदनहरु सार्वजानिक गर्न समाजले ‘पारदर्शीसमाज डट ओआरजी’ नामक वेवसाईट पनि सार्वजानिक गरेको छ । वेबसाइट सार्वजानिक कार्यक्रममा अध्यक्ष दीपकुमार उपाध्यायले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सुशासनबिना मुलुकको अवस्था सुधार हुन नसक्ने बताउनु भयो । भ्रष्टाचार र कमजोर सुशासनका कारण नेपालको आर्थिक अवस्था निकै कमजोर बनेको उहाँको भनाई छ । उहाँकाअनुसार पहिले ऋणको साँवा–ब्याज तिर्न र साधारण खर्च धान्न करिब २ खर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्था थियो तर हाल बढेर ४ खर्ब रुपैयाँसम्म पुगेको छ ।
आम्दानी नबढ्ने तर खर्च मात्रै बढ्ने गरेका कारण देशमा आर्थिक संकट आएको उहाँको भनाई छ ।पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले नेपालमा पारदर्शिता र सुशासनको अवस्था कमजोर रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय सूचकांकहरूले पनि त्यसलाई पुष्टी गरेको उहाँको भनाई छ । अझै पुराना कानूनी संरचना र कार्यशैलीमा मुलुक सञ्चालन भइरहेकोले पनि पारदर्शिता सुनिश्चित हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले सरकारको कार्यसम्पादन नियमावलीलाई पूर्ण रूपमा पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । राष्ट्रिय सुरक्षासँग सम्बन्धित सीमित विषयबाहेक अधिकांश सरकारी निर्णय र त्यससँग सम्बन्धित कागजात सार्वजनिक हुनुपर्ने उहाँको भनाई छ । तर नेपालमा सूचना माग्दा समेत सम्बन्धित निकायबाट सहज रूपमा उपलब्ध नहुने अवस्था रहेको उहाँले बताउनु भयो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्र्दभमा पनि समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना र तथ्यहरुलाई आधारमा अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ ।




