लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला

काठमाडौं ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटीआईक्यु प्लस) समुदायको अधिकार, समावेशीकरण, मर्यादा र राजनीतिक सहभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘प्राइड’ परियोजना शुरु भएको छ ।युरोपेली सघ ७५ प्रतिशत र डिसिए नेपालको २५ प्रतिशत साझेदारीमा शुरु भएको ‘प्राइड’ परियोजना मधेस, लुम्बिनी, वागमती र सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिनेछ । परियोजनाबाट प्रत्यक्ष रूपमा ६ हजार ८ सय १० र अप्रत्यक्ष रूपमा ९८ हजार ३ सय ५० गरी कुल करिव १ लाख ५ हजार १ सय ६० जनालाई लाभान्वित हुने बताइएको छ । विद्यमान ऐनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई दिएको अधिकार स्थापित गर्दे मर्यादित र समावेशी जीवन जीउने आधार तयार गर्ने सन्र्दभमा परियोजनाका गतिविधि केन्द्रीत हुने बताइएको छ ।डिसिए नेपालले शुक्रवार ललितपुरमा विभिन्न सरोकारवाला सहितको सहभागितामा परियोजना शुरुवात भएको जानकारी गराएको छ । परियोजना अन्तर्गत मतदाता शिक्षा, राजनीतिक नेतृत्वसँग मेन्टरसिप, कानूनी अड्चनहरूको समीक्षा, संसद तथा निर्वाचन आयोगसँग नीति संवाद र राजनीतिक दलहरूलाई समावेशी विधान तथा घोषणापत्र सह–निर्माण गर्न प्राविधिक सहयोग गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिनेछन् । यस अभियानमा नागरिक समाज, निर्वाचन आयोग, मानव अधिकारवादी संस्था, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई मुख्य सरोकारवालाका रूपमा जोड्दै देशको राजनीतिक संरचनामा अल्पसङ्ख्यक समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

डीसीए नेपालकी कार्यक्रम व्यवस्थापक सूर्यकुमारी सुनारले परियोजनाले यो समुदायप्रतिको सामाजिक विभेद, कलंक र भेदभावको अन्त्य गरी अन्य नागरिक सरह राजनीतिमा सहभागी हुने वातावरण निर्माण गर्न परियोजनाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । डीसीए नेपालकी देशीय निर्देशक डा. सम्झना विष्टले प्राईड परियोजनाले समावेशी समाज निर्माण गर्नेमा सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रत्येक व्यक्तिले आफ्नो पहिचान, गरिमा र अधिकारसहित सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु नै परियोजनाको मूल उद्देश्य रहेको उल्लेख गर्नुभयो । ‘प्राइड परियोजना’ले राजनीतिक साक्षरता अभिवृद्धि, नीतिगत अध्ययन, पैरवी तथा समुदायदेखि नीतिगत तहसम्म सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ । कुल ६ लाख ६६ हजार ६ सय ६७ युरो लागतको परियोजना सन् २०२८ सम्म सञ्चालन हुनेछ ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले नेपालको संविधानले सुनिश्चित गरेका अधिकारहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लागी अझै पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
नागरिकता प्राप्ति, रोजगारी, राजनीतिक सहभागिता र सामाजिक स्वीकृतिका क्षेत्रमा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरु बञ्चित हुनुपरेको उनीहरुको भनाई छ । वक्ताहरूले संविधानले अधिकार सुनिश्चित गरेपनि त्यसको कार्यान्वयनका लागि आवश्यक स्पष्ट नीति, प्रक्रिया र संवेदनशील प्रशासनिक प्रणाली अझै स्थापित हुन नसकेको बताए । विशेषगरी ट्रान्स व्यक्तिले अदालतको आदेशपछि पनि लैंगिक पहिचानसहितको नागरिकता प्राप्त गर्न महिनौँदेखि वर्षौँसम्म प्रशासनिक झन्झट व्यहोर्नुपर्ने, कानुनमा नभएका थप प्रमाण मागिने तथा स्पष्ट कार्यविधिको अभावका कारण अधिकार उपभोग गर्न कठिनाइ भइरहेको सरोकारवालाहरुले बताएका छन् ।सार्वजनिक सेवा प्रशारण नेपालका प्रमुख प्रशासकिय अधिकृत आरती चटौतले संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारलाई सम्बोधन गरेपनि कार्यन्वयनमा समस्या र कतिपय कानूनहरु अझैपनि विभेदकारी रहेको बताउनु भयो । उहाँले लैंगिक पहिचानसहितको नागरिकता लिन चाहने व्यक्तिलाई सरकारले तोकेको चिकित्सकबाट शारीरिक परीक्षण गराउनुपर्ने प्रावधान नै अमानवीय र मानवअधिकार विपरीत भएको टिप्पणी गर्नुभयो । लैङ्गिक पहिचान शरीरसँग मात्र नभई मानसिक पहिचानसँग पनि जोडिएको विषय भएकाले यस्तो कानूनी व्यवस्था संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि दिएको अधिकार सामाजिक चेतना र आर्थिक परिवेशका कारण व्यवहारमा लागू हुन नसकेको बताउनु भयो । उहाँले कानुनमा छुवाछुत अन्त्य भएको दशकौँ बितिसक्दा पनि व्यवहारमा विभेद कायम रहेको दृष्टान्त दिँदै प्राइड परियोजनाले समावेशी र सम्मानपूर्ण जीवन जीउने आधार तय गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिपक्ष दल नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले समाजले समस्या देखेर पनि अनदेखा गर्ने प्रवृत्तिका कारण विभेद अन्त्य हुन नसकेको बताउनु भयो । उहाँले सत्य बोल्ने साहस नभएसम्म कुनैपनि समुदायका समस्या समाधान हुन नसक्ने दाबी गर्नुभयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भुमिका श्रेष्ठले कानून निर्माणभन्दा त्यसको कार्यान्वयनमा समस्या रहेको बताउनु भयो । उहाँले कानुन कार्यन्वयनको लागि कर्मचारीतन्त्रले असहयोग गर्ने गरेको गुनासो गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले काँग्रेस यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सधैँ प्रतिवद्ध रहेको बताउनु भयो । थापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार कार्यन्वयनको लागि सहयोग गर्ने प्रविवद्धता जनाउनु भयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार नारामा र संधिानमा मात्रै सिमित हुन नहुने उहाँको भनाई छ । उहाँले सरकारले यस समुदायको लागी बजेटको व्यवस्था गरेपनि बजेट के लागी भनेर नतोकेको बताउनु भयो । कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरुले लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न कानूनी सुधार र प्रभावकारी कार्यन्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।

Leave a Reply