कोशी, वागमती र गण्डकी प्रदेशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

कोशी, वागमती र गण्डकी प्रदेशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।

मुलुकका विभिन्न प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । दिउँसो कोशी प्रदेश र देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । मधेश, वागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका साथै बाँकी पहाडी भेगमा आंशिक बदली रहने भए पनि अन्य तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । यसैगरी, कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशका बाँकी हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत फाट्टफुट्ट वर्षा र हिमपात हुन सक्ने विभागको बुलेटिनमा उल्लेख छ । राति कोशी, मधेस, वागमती र गण्डकी प्रदेश सहित देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने रातिको मौसम मुख्यतया सफा रहनेछ ।

Leave a Reply