काठमाडौं ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमवार बस्दैछ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ माथिको मन्त्रालयगत छलफल र विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रश्तावहरू पेश हुने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुखले विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ। यसैगरी, विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शिर्षकहरूमाथि सामूहिक छलफल प्रारम्भ हुनेछ । सोमवारको बैठकमा युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्रालयका शिर्षकहरूमाथि छलफल हुने तय भएको छ । बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौतीको प्रश्ताव समेत पेस हुनेछ । कृपाराम रानाले उद्योग मन्त्रालय, नीता घतानीले सूचना मन्त्रालय र अर्जुनकुमार कार्कीले शिक्षा मन्त्रालयका लागि खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यसैगरी, साजिदा खातुन सिद्धिकीले स्वास्थ्य र महिला तथा बालबालिका मन्त्रालय एवं एशुदा कुमारी बरालले भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयको खर्च कटौतीको प्रश्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
यता, राष्ट्रिय सभातर्फ आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ । बैठकको अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम रहेको छ ।




