विपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८३, आइतबार

विपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

काठमाडौं ।

गत असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको विपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकोले वर्षाअघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तिब्रता दिइएको छ । आफूहरुको मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई, स्थायी संरचनामार्फत  यातायात सञ्चालन गर्ने रहेको बताउनुभयो । उहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सडक संरचनाको किनाराबाट गुड्नेछन् ।
योगेशले भन्नुभयो,‘धुलिखेल–खावा खण्डको कुल लम्बाइ ४ किलोमिटर हो । यसमध्ये साढे दुई किलोमिटरमा पहिलो तहको बिटुमिनस कार्य सम्पन्न भइसकेको छ भने बाँकी डेढ किलोमिटरमा सब–बेसको काम भइरहेको छ । त्यसपछि बेस र डिबिएमले गर्ने काम बिटुमिनको उपलब्धतामा निर्भर हुनेछ । अहिले सब–बेसको काम सकिएपछि पनि ठेकेदारसँग बिटुमिन स्टकमा छैन । बजारमा उपलब्ध भयो भने काम अघि बढाउने उहाँहरूको भनाइ छ । त्यसबेलासम्म अन्य कामहरू भने जारी रहनेछन् ।
अब ८–१० दिनभित्र बिटुमिन उपलब्ध भयो भने काम निरन्तर अघि बढ्छ, नभए केही असर पर्न सक्छ । बजारमा इन्धनको मूल्यवृद्धि भएको छ, त्यसैगरी बिटुमिनको मूल्य पनि बढेको छ । बिटुमिनको हकमा मूल्य बढ्नुका साथै बजारमै उपलब्ध नहुने समस्या पनि देखिएको छ । डिजेलको विषयमा भने हाम्रो परियोजनामा धेरै ठूलो प्रभाव परेको छैन । महँगो भए पनि ठेकेदारहरूले त्यसलाई व्यवस्थापन गर्न सक्ने क्षमता राख्नुभएको छ । मूल्यवृद्धि भएको भन्दै मूल्य समायोजन गरिदिनुपर्ने मागसहित निवेदन आएको छ । यसबीच मन्त्रालयबाट सचिवज्यूको निर्देशन पनि आएको छ । सो निर्देशनअनुसार, ठेक्का सम्झौतामा मूल्य समायोजनका लागि जे व्यवस्था गरिएको छ, सोही आधारमा मात्र मूल्य समायोजन गर्न सकिनेछ, त्यसबाहेक अर्को विकल्प छैन । त्यसैले हामीले पनि ठेकेदारहरूलाई सम्झौतामा उल्लेख भएको व्यवस्थाअनुसार दाबी गर्न सक्नुहुन्छ, तर त्यसभन्दा बाहिर जाने अवस्था अहिले छैन, काम जसरी पनि अघि बढाउनुपर्छ भन्ने निर्देशन दिएका छौँ । कतिपय अवस्थामा केही ढिलासुस्ती भएको जस्तो देखिए पनि अब त्यसरी ढिलाइ गर्न पाइँदैन । सम्झौताअनुसार काम गर्नैपर्छ । मूल्यवृद्धिका कारण केही समस्या परेको छ । तर डिजेलको कारणले काम रोकिएको होइन, मुख्य समस्या बिटुमिनको अभाव हो । बिटुमिन उपलब्ध भएको भए साढे दुई किलोमिटरमा पहिलो तह सम्पन्न भइसकेकाले दोस्रो तहको काम पनि अघि बढिसक्थ्यो । अहिले त्यो काम रोकिएको छ । यद्यपि साढे दुई किलोमिटर सडकमा सवारी सञ्चालन सहज भएको छ । यदि बिटुमिन उपलब्ध भयो भने यही वर्ष बाँकी डेढ किलोमिटरमा डीबीएम तथा चारै किलोमिटरमा अस्फाल्टको काम सम्पन्न गर्न सकिने ठेकेदारको तयारी छ । हामीले विभागलाई यसबारे जानकारी गराइसकेका छौँ । विभागले नेपाल आयल निगमसँग तथा भारतको आइओसिएलसँग सरकार–सरकार स्तरमा सम्झौता गरी बिटुमिन ल्याउने विषयमा छलफल अघि बढाएको भन्ने जानकारी प्राप्त भएको छ । तर त्यसबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन । परियोजनामा पूर्ण रूपमा सुस्तता आएको भने छैन । यस वर्ष हाम्रो मुख्य लक्ष्य गत वर्षको विपद्का कारण करिब ८ किलोमिटर क्षेत्रमा भएको क्षतिग्रस्त भागमा वर्षायामअघि आवश्यक संरचना निर्माण सम्पन्न गर्ने र खोलाबाट डाइभर्सन दिएर होइन, स्थायी संरचनामार्फत माथिबाटै यातायात सञ्चालन गर्ने थियो । ठेकेदारहरू पनि सोहीअनुसार परिचालित हुनुभएको छ र त्यो काममा कुनै सुस्तता आएको छैन ।
यद्यपि त्यससँगै हुने कटिङ, मेसनरी वाल तथा अन्य केही कामहरूमा ध्यान अलि कम पुगेको हुनसक्छ । तर यस वर्षको प्रमुख लक्ष्य भने सन्तोषजनक रूपमा अघि बढिरहेको छ । मेरो अनुमानमा जेठ महिनाको अन्त्यसम्म ती सबै महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधनहरू माथिबाटै सञ्चालन गर्न सकिने अवस्था बन्नेछ । केही खण्डमा त अहिले पनि बाढी आएर आवागमन प्रभावित हुँदा वैकल्पिक रूपमा माथिबाटै यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइसकिएको छ ।’

निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुंगेलले रातदिन काम गरेर असार १५ भित्रै सडक सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँकाअनुसार बक्सिगुना खण्डको २३० मिटरमध्ये अब ७० मिटर मात्र बाँकी छ । आगामी ४–५ दिनमै त्यसलाई सवारी चलाउन सकिने गरी निर्माण भइरहेको छ । बाढीले तीन पटकसम्म क्षति पु¥याए पनि हाल सामग्री र जनशक्तिको अभाव नरहेको उहाँको भनाइ छ ।
ढुंगेलले भन्नुभयो– ‘हाम्रो अहिलेको भौतिक प्रगति करिव ३० प्रतिशतको हाराहारीमा पुगेको छ । वित्तीय प्रगति २४–२५ प्रतिशत पुगेको छ भने भौतिक प्रगति ३०–३१ प्रतिशत पुगेको छ । यस परियोजनाका लागि आवश्यक जनशक्ति तथा सामग्री स्रोतहरू सबै साइटमा उपलब्ध छन् । बक्सिगुना खण्ड हाम्रो परियोजनाको सबैभन्दा संवेदनशील खण्ड हो । यस खण्डको कुल लम्बाइ २३० मिटरमध्ये अहिले ७० मिटर मात्र बाँकी छ । माथिबाट यातायात सञ्चालन गर्ने तथा अर्को तह (लिफ्ट) को कामका लागि यही ७० मिटर खण्डमा काम भइरहेको छ ।
हामीलाई अब करिव ४–५ दिनको समय लाग्ने अनुमान छ । त्यसपछि आवश्यक परेमा आपत्कालीन अवस्थामा माथिबाटै सवारीसाधन सञ्चालन गर्न सकिने गरी मार्ग खुला गरिन्छ । त्यसपछिका थप कामहरू निरन्तर अगाडि बढाइनेछन् । साथै, आगामी १५ दिनभित्र अर्को तहको काम सम्पन्न गरी यस खण्डलाई सुरक्षित रूपमा सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । अन्य समस्याहरू भने यहाँ खासै छैनन् । तर बाढीका कारण यही खण्डमा करिब तीन पटक क्षति पुगेको थियो । ती क्षतिबाट उन्मुक्ति पाउन र पुनः निर्माण कार्यलाई पूर्ववत अवस्थामा ल्याउन करिव १५–२० दिन लाग्यो । यसले परियोजनाको प्रगतिलाई झन्डै एक महिना पछाडि धकेल्यो ।  ती सबै चुनौतीहरू पार गर्दै अहिले हामी यो अवस्थासम्म आइपुगेका छौँ । अन्य कुनै विशेष समस्या छैन । यहाँ सामग्री अभावको समस्या पनि छैन । आवश्यक सबै निर्माण सामग्री तथा स्रोतहरू पर्याप्त मात्रामा उपलब्ध छन् । काम गर्ने वातावरण पनि अनुकूल र सहज छ । वर्षायामलाई मध्यनजर गर्दै हामीले विभिन्न स्थानमा कफरड्याम निर्माण गरी आवश्यक पूर्वतयारी गरेका छौँ । त्यसैले सामान्य खालको बाढीले खासै असर पार्दैन तर अत्यधिक वर्षा भई ठूलो बाढी आउने अवस्था सिर्जना भयो भने हामी थप शतर्क भई आवश्यक तयारी तथा व्यवस्थापन प्रक्रियामा निरन्तर सक्रिय रहनेछौँ ।’

२०८१ असोज १२ र १३ गतेको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । पहिलो खण्डमा भकुण्डेबेँसीदेखि चारसयबेँसी ११.८ कि.मीको काम चलिरहेको छ । नवकान्तिपुर लामा जेभीले काम गरिरहेको यस खण्डको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी छ ।
दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेशी ८.५ कि.मी हो । यसमा कमलजीत एवान जेभीले काम गरिरहेको छ । यस्तै, तेस्रो खण्ड अन्तर्गत डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको छ । पुनर्निर्माणसँगै विपी राजमार्गको यो खण्ड अब ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति भई पूर्ण दुई लेनको मानक सडक बन्ने भएको छ । डिभिजन प्रमुख योगेशका अनुसार अब सडकको चौडाइ न्युनतम ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर रहनेछन् । सुरुवाती डिजाइनमा सानो सवारी चापको अनुमान गरिए पनि अहिलेको आवश्यकतालाई हेरेर सडक विस्तार गर्न लागिएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार