‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८३, आइतबार

‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म

काठमाडौं महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशर ‘मानवीयताको शहर’ को रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आईतवार नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त संकल्प गर्नुभएको हो । नीति तथा कार्यक्रमले कंक्रिटको सडकभन्दा माथि उठेर सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कल्याणकारी अभ्यासलाई अभूतपूर्व प्राथमिकता दिएको छ । महानगरले आगामी वर्षको बजेट तथा कार्यक्रममा ‘मानवीयताको शहरः काठमाडौं’ भन्ने मार्गनिर्देशक सन्देशलाई कार्यान्वयन गर्न थुप्रै प्रयोगात्मक र सिर्जनात्मक योजनाहरू समावेश गरेको छ । यस अन्तर्गत महानगरवासी र यहाँ आश्रय लिने सम्पूर्ण प्राणीहरूको हितलाई रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।
मुख्य घोषणा मध्ये, ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ एक कोशेढुङ्गा सावित हुने देखिएको छ । यस अभियान अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्धवृद्धा र अशक्त नागरिकहरूले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुनेछ । उहाँहरूको घरदैलोमै चिकित्सक, स्वास्थ्य प्राविधिक र सेवा कर्मचारी परामर्श तथा औषधि बोकेर पुग्नेछन् । साथै, ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका अशक्त नगरवासीहरूलाई पोषक आहारको सुरक्षाका लागि नियमित पोषण भत्ता उपलब्ध गराइनेछ ।
काठमाडौंका सडकहरूलाई मानवीयताको प्रतिबिम्ब बनाउन महानगरले सुदृढ योजना अघि सारेको छ । सहयोगापेक्षी, घरबारविहीन र सडक आश्रित नागरिकहरूको उद्धार, तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरू र गैरसरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाडौंलाई ‘सडक आश्रित मानवमुक्त शहर’ घोषणा गरिने र यसको प्रभावकारी कार्यान्वयन अघि बढाइने नीतिमा उल्लेख छ । कार्यवाहक प्रमुख डंगोलले महानगरको मानवीयता केवल मानिसमा मात्र संकुचित नभएको बरु यसले पशुपंक्षी र प्रकृतिको सहअस्तित्वलाई समेत हार्दिकताका साथ समेटेको बताउनु भयो । चराचुरुङ्गी संकटमा पर्दै गएको शहरी पर्यावरणलाई महशुस गर्दै महानगरभित्रका सम्पूर्ण टोल, विद्यालय, समुदाय र पार्कहरूमा पंक्षीमैत्री अभ्यास सञ्चालन गरिने बताउनु भयो । यसका लागि चराचुरुङ्गीहरूलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौँको सङ्ख्यामा ‘पानी पात्र’ हरू स्थापना गरिने घोषणा गरिएको छ । सडकका कुकुर र बाँदरको नियन्त्रण गर्दासमेत कुनै निर्दयी विधि प्रयोग नगरी पशु कल्याणका सिद्धान्तअनुसार मानवीय र वैज्ञानिक उपाय मात्रै अवलम्वन गरिने कुराले महानगरको सभ्य सोच दर्शाउँछ ।
महानगरपालिकाले आफ्नो परम्परा र सीपलाई पनि विशेष सम्मान दिने भएको छ । पुस्तौँदेखि चलिआएको मौलिक सीप, शिल्पकला र आधुनिक प्रतिभा भएका व्यक्तिहरूको क्षमता प्रमाणीकरण गरी उनीहरूलाई आधिकारिक प्रमाणपत्र जारी गर्ने नौलो व्यवस्था मिलाइने बताएको छ । यो निर्णयले रैथाने कालीगढ र काष्ठकलाविद्हरूको सम्मान प्रवद्र्धन गर्ने महानगरको विश्वास छ ।
युवा तथा सुशासनको नयाँ परिभाषा कोर्नका लागि महानगरले नवयुवा पुस्ता (जेन जेड र जेन अल्फा) लाई राष्ट्र निर्माणको संवाहक मानी उनीहरूको आवश्यकता सम्बोधन गर्ने र राष्ट्रिय व्यक्तित्वहरूसँग साक्षात्कार गराउने विशेष विमर्श कार्यक्रम अघि सारेको छ । भित्री साँगुरो सडकमा स्वास्थ्य सेवा पु¥याउन ‘बाइक एम्बुलेन्स’, सबै निजी र सरकारी अस्पतालहरूमा १० प्रतिशत विपन्न उपचारको कडा अनुगमन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक तनाव व्यवस्थापनका लागि कल सेन्टर जस्ता योजनाहरूले नीति तथा कार्यक्रमलाई वास्तविक रूपमा जनताकेन्द्रित बनाएका छन् ।

Leave a Reply

ताजा समाचार