एजेन्सी, ८ फागुन । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी एफए कपबाट बाहिरिएको छ । म्यानचेष्टर सिटी इङल्याण्डको नकआउट फुटबल प्रतियोगिता एफए कपको पाँचौ चरणको खेलमा विगान एथ्लेटिक्ससँग १–० ले पराजित भएसँगै प्रतियोगीताबाट पनि बाहिरिएको छ ।
गएराति भएको खेलमा विगान एथ्लेटिक्ससँग पराजित भएसँगै यो वर्षका सबै उपाधि उचाल्ने म्यानचेष्टर सिटीको सपना टुटेको छ । पहिलो हाफको इन्जुरी समयमा फाबियन डेल्फ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु म्यानचेष्टर सिटीको हारको कारण बन्यो ।
म्यानचेस्टर सिटी दोश्रो हाफको पूरै समय १० खेलाडीमा सीमित हुँदाको फाइदा विगानले उठायो । खेल सकिन ११ मिनेट बाँकी रहेको अवस्थामा विल ग्रिगले विगानका लागि निर्णयक गोल गरे ।




