सरकारसँग सांसदहरुको मागः विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गरियोस् | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

सरकारसँग सांसदहरुको मागः विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गरियोस्

काठमाडौँ ।

सांसदहरुले विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै सांसदहरु आशिष गजुरेल, बलावती शर्मा, गोविन्द पन्थी, भुमिका लिम्बू सुब्बा लगायतका सांसदहरुले गएराति आएको हावाहुरीलगायतका कारण गुल्मी, बाग्लुङ, पाँचथर, सिन्धुली लगायतका ठाउँहरुमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । सांसद आशिष गजुरेलले पानीजन्य जोखिम नियन्त्रणका लागि विद्यालयलगायतका ठाउँहरुमा उचित ज्ञानको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सिन्धुली जिल्लामा हालै पौडी खेल्ने क्रममा एक युवाको ज्यान गएको दृष्टान्त पेश गर्दै त्यस्ता खालको जोखिम हुनबाट बचाउनका लागि पूर्वाधार विकासमा पनि सुरक्षाको मापदण्ड पालना नगर्नेहरुमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद गोविन्द पन्थीले गएराति आएको हावाहुरीले गुल्मी जिल्लाको विभिन्न ठाउँमा ठूलो क्षति पुगेको उल्लेख गर्दै विपदमा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारले पीडित नागरिकको उद्धारमा विशेष ध्यान दिनुपर्ने पनि बताउनु भयो । बाग्लुङमा पनि हावाहुरीमा पनि नागरिकले पीडा भोग्नु परेकाले सरकारले तत्काल उनीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने सांसद बलावती शर्माले बताउनु भयो । उहाँले जोखिमयुक्त बस्तीमा बसेका नागरिकलाई उचित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद भुमिका लिम्बू सुब्बाले पाँचथरमा पनि बाढी र पहिरोका कारण भएको क्षतिको एकीन विवरण तय गरी नागरिकलाई राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद सुब्बाले सरकारले पीडामा रहेका नागरिकलाई तत्काल अस्थायी बासको व्यवस्था बनाउन पनि ढिलाई गर्न नहुने बताउनु भयो ।

Leave a Reply