काठमाडौँ ।
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गर्नुभएको छ । नेपालमा सुर्तिजन्य पदार्थबाट आक्रान्त भएका मानिसहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्नका लागि उक्त पदार्थमा सरकारले करको दर बढाउनुपर्ने बताउनुभएको हो ।
मंगलवार प्रतिनिधि सभा बैठकमा शुन्य समय लिएर बोल्दै सांसद बरालले भारत र बंगलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा बढाउन आवश्यक रहेको तर्क समेत गर्नुभयो । सांसद बरालले सरकारले सुर्तिजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न करको दर बढाउने कुरा नै सबैभन्दा प्रभावकारी कदम हुने समेत स्पष्ट पार्नुभयो ।




