काठमाडौँ ।
नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र साह संसदसंग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको आरोप लगाउनु भयो । यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसदसँग किन त्रसित छ ? संसदलाई छल्ने प्रयास किन भइरहेको छ ? उहाँको प्रश्न छ । प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै उहाँले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताउनु भयो । उहाँले संविधानको धारा ७६(१०) र धारा ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँकाअनुसार संविधानले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर प्रधानमन्त्री अहिलेसम्म संसदमा उपस्थित भएर कुनै पनि विषयमा जवाफ दिन आउनुभएको छैन । उहाँले कार्यपालिका र राष्ट्रपतिबीच दूरी सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि लगाउनु भयो । राष्ट्रपति संस्थालाई अपमानित र बाइपास गर्ने गतिविधि भइरहेको उहाँको भनाई छ ।गणतन्त्र दिवसमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भइरहेको भन्दै उहाँले सरकारको भूमिकामाथि थप प्रश्न उठेको बताउनु भयो । यी सबै विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उहाँको माग छ ।




