काठमाडौँ ।
नेकपा (एमाले) केन्द्रिय सचिवालयको बैठक आज बस्दैछ । पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओलीको निवास, गुण्डुमा बिहान साढे ११ बजे बैठक बोलाइएको हो । केन्द्रिय कार्यालय सचिव डा. भीष्म अधिकारीकाअनुसार गत जेठ ५ गतेको बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गर्नुभएको कार्यविभाजनसम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी छ । सचिवालयले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र नेताहरूलाई पठाइनेछ । यसअघि ११ औँ महाधिवेशनपश्चात नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एमालेले नयाँ ढङ्गले जिम्मेवारी बाँडफाँट गर्न लागेको हो । प्रश्तावित कार्यविभाजनअनुसार सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग, केन्द्रिय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसङ्गठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी छ । यस्तै, उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूको समन्वय र अनुगमनको भुमिका प्रश्ताव गरिएको छ । अध्यक्ष ओलीको प्रश्तावमा अधिकांश केन्द्रिय सदस्यहरूलाई ‘मिसन स्थानीय चुनाव’ अन्तर्गत जिम्मेवारी तोकी कार्यक्षेत्रमा खटाउने उल्लेख छ । बैठकले कार्यविभाजनका साथै पार्टीका समसामयिक राजनीतिक विषयमा समेत निर्णय लिने बुझिएको छ ।




