काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक रणनीति र समसामयिक विषयमा सुझाव संकलन गर्न सांसदहरूसँग प्रदेशस्तरीय छलफल शुरु गर्ने भएको छ । पार्टी सभापति र सांसदहरूबीच हुने उक्त परामर्श कार्यक्रम शुक्रवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरिने भएको हो । पार्टीद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार, आगामी जेठ ८ गते पहिलो चरणमा कोशी र मधेस प्रदेशका उपलब्ध सांसदहरूसँग छलफल गरिनेछ। कार्यक्रमको पहिलो सत्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कोशी प्रदेशका सांसदहरूसँग परामर्श हुनेछ भने दोस्रो सत्रमा दिउँसो साढे १ बजे बजेदेखि साढे ३ बजेसम्म मधेस प्रदेशका सांसदहरूसँग छलफल हुने तय भएको छ । सांसदहरूबाट प्राप्त हुने सल्लाह र सुझावका आधारमा पार्टीको भावी कार्यदिशा र संसदीय भुमिकालाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । कोशी र मधेस बाहेक अन्य प्रदेशका सांसदहरूसँगको छलफलका लागि भने पार्टीले छिट्टै अर्को तालिका सार्वजनिक गर्ने बताइएको छ ।





