मनसुनजन्य सडक दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

मनसुनजन्य सडक दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह

काठमाडौँ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना र जनधनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष (स्टल) को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमानको प्रविधि अत्यन्तै विश्वसनीय भएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तने गरेको तर्फ ध्यानाकर्षण गराउनु भयो । उहाँले नाफाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन यातायात व्यवसायी र चालकहरूलाई निर्देशन दिनुभयो ।

जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न उहाँले चालक तथा यात्री दुवैलाई अपिल गर्नुभयो । एआईजी कार्कीले यातायात क्षेत्रको सुधारका लागि भएका प्रयासहरूको चर्चा गर्दै जथाभाबी पार्किङ गर्ने प्रवृत्तिको अन्त्य हुनु सकारात्मक भएको बताउनु भयो । उहाँले बसपार्कभित्र आवश्यक न्युनतम पूर्वाधारको व्यवस्थापन भइसकेको जानकारी दिँदै ट्राफिक नियमको पालनामा निरन्तरता दिन आग्रह गर्नुभयो । यातायात क्षेत्रमा हुने विवाद समाधान र सुरक्षाका लागि प्रविधिको प्रयोगमा जोड दिँदै कार्कीले हालसम्म ४ सय भन्दा बढी सवारी साधनमा जीपीएस र ड्यासबोर्ड क्यामेरा जडान भइसकेको जानकारी दिनुभयो । यसबाट सवारी दुर्घटनाको सही पहिचान हुने र न्याय प्राप्तिमा सहज हुने उहाँको विश्वास छ । साथै, अनलाइन टिकिटिङ र यात्रीको सामानको सुरक्षाका लागि सुरु गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण रूपमा लागू गर्न उहाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ध्यानाकर्षण गराउनु भयो । विगतका वर्षहरूमा जस्तो बाढी र पहिरोका कारण सवारी साधन र यात्री बेपत्ता हुने दुःखद् घटना यो वर्ष दोहोरिन नदिन सबै पक्षबीच सहकार्य हुनुपर्नेमा एआईजी कार्कीले जोड दिनुभयो ।

Leave a Reply