पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा शनिवार राति भएको एक भीषण आत्मघाती बम आक्रमणमा परी कम्तीमा १५ प्रहरीको मृत्यु भएको छ । सुरक्षा निकायको एक प्रतिष्ठानलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा अन्य कैयौँ सुरक्षाकर्मी घाइते भएका छन् । आधिकारिक स्रोतकाअनुसार प्रान्तको बन्नु जिल्लामा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई सुरक्षा प्रतिष्ठानमा ठोक्काएर विष्फोट गराइएको थियो । स्थानीय समयअनुसार शनिबार राति ८ः५५ बजे भएको उक्त विष्फोटबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार, सवारी साधनमार्फत गरिएको विष्फोटलगत्तै क्वाडकोप्टर ड्रोनको प्रयोग र हतियारधारी समूहले स्थलगत आक्रमण समेत गरेका थिए । विष्फोटका कारण ध्वस्त भएको संरचनाको भग्नावशेषमा अन्य शवहरू पुरिएको हुनसक्ने आशंकामा भारी मेसिनरी प्रयोग गरी उद्धार तथा खोजी कार्य जारी राखिएको छ। बम डिस्पोजल टोलीको प्रारम्भिक अनुमानअनुसार उक्त आक्रमणमा १ हजार २ सयदेखि १ हजार ५ सय किलोसम्म विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।
उक्त आक्रमणको जिम्मेवारी ‘इत्तेहाद–उल–मुजाहिद्दीन पाकिस्तान’ (आईएमपी) नामक सशस्त्र समूहले सामाजिक सञ्जालमार्फत लिएको छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा पछिल्ला महिनाहरूमा सुरक्षाकर्मी र कानून कार्यान्वयन गर्ने निकायहरूलाई लक्षित गरी हुने आक्रमणका घटनामा उल्लेख्य वृद्धि भएको छ ।




