काठमाडौं ।
दर्शकका लागि फिल्म मनोरञ्जन र निर्माताका लागि व्यवसायको माध्यम हो । फिल्मबाट लगानी उठाएर मुनाफा गर्नकै लागि निर्माताले मुटु दह«ो पारेर पैसा लगाउँछन् । भलै कति सफल हुन्छन् त कति असफल । फिल्मको व्यावसायिक सफलता अथवा असफलता फिल्म निर्माण पछिको प्रचारप्रसारमा पनि भरपर्छ । अहिले एआईको युगमा विश्व प्रवेश गरिरहँदा प्रचारप्रसारको शैली फेरिएको छ । अर्थात निर्माताहरु डिजिटल प्रचारप्रसारमा जोड दिइरहेका छन् । सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिइरहेका छन् ।
तर एक समय सामाजिक सञ्जाल र मिडियाको बढ्दो विकासक्रम नहुँदा फिल्म प्रचारप्रसारको शैली भिन्न थियो । त्यस समयमा पोस्टर, पत्रपत्रिका, माइकिङ र गीतलाई प्रचारप्रसारको प्रमुख आधार मानिन्थ्यो ।
नेपालको भित्तामा बम्बईको पोस्टर
फिल्मको प्रचारप्रसारको प्रमुख साधन पोस्टर नै हो । प्रविधिको विकाससँगै नेपालमै आकर्षक साजसज्जादेखि प्रकाशनसम्मको सुविधा छ । तर कुनै समय नेपाली फिल्मको पोस्टर छपाईंकै लागि भारतको बम्बई(मुम्बई) सम्म पुग्नुपथ्र्यो ।कलाकार, निर्माता तथा निर्देशक नीर शाहको अनुभवमा पुरानो समयमा फिल्मको प्रचारप्रसारको प्रमुख आकर्षण नै पोस्टर हुन्थ्यो । फिल्म निर्माता तथा वितरक छविराज ओझा पोस्टरलाई नै प्रचारको प्रमुख माध्यम मान्छन् ।निर्देशक लक्ष्मीनाथ शर्मा पोस्टरले दर्शकलाई आकर्षित गर्ने भएकाले पनि निर्माताको बढी ध्यान आकर्षक पोस्टर बनाउनेमै हुने गरेको बताउँछन् ।
रेडियो नेपालमा गीत
रेडियो नेपाल नेपाली फिल्म भन्दा धेरै जेठो छ । अर्थात् वि.सं. २००७ मा रेडियो नेपाल स्थापना हुँदा नेपालमै निर्माण भएको पहिलो नेपाली भाषाको फिल्म ‘आमा’ वि.सं. २०२२ सालमा रिलिज भएको थियो । कलाकार नीरका अनुसार २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि मात्र टेलिभिजनले औपचारिक रुपमा गीतको प्रशारण गर्न थालेको हो । निर्माता ओझाकाअनुसार त्यसबेला गीत प्रशारणको प्रमुख माध्यम नै रेडियो नेपाल थियो । निर्देशक शर्मा रेडियो नेपालमा फिल्मको नाम, गीतकार, संगीतकार, गायकगायिका सबैको नाम आउने भएकाले पनि निर्माताहरुले गीत दिने गरेको स्मरण गर्छन् । ‘अहिले त गायकगायिकाको नाममात्र भन्छन् । कतिपयले त भन्दैनन् पनि । त्यो बेला विस्तृत रुपमा आउँथ्यो । जसकारण पनि निर्माताहरु रेडियो नेपालमा गीत दिन लालयित हुन्थे’, शर्मा भन्छन् ।
माइकिङ बलियो आधार
कुनै समय फिल्म प्रचारप्रसारको प्रमुख आधार माइकिङ नै हुन्थ्यो । विशेषत काठमाडौं उपत्यका बाहिरका सहरमा माइकिङको ठूलो महत्व थियो । निर्माता ओझा शहरका कुनादेखि फिल्म हलसम्म हुने माइकिङले प्रचारप्रसारलाई बलियो बनाउने गरेको बताउँछन् । माइकिङमा फिल्मको प्रचारसँगै गीत पनि बज्ने भएकाले दर्शकले चनाखो भएर सुन्ने गरेको उनी स्मरण गर्छन् ।
पत्रपत्रिकामा विज्ञापन
एफएम रेडियो र निजी क्षेत्रका टेलिभिजनको विकास नहुँदा सर्वसाधारणलाई सूचनाको प्रमुख स्रोत पत्रपत्रिका नै हुन्थे । त्यस समयमा गोरखापत्र, कान्तिपुर, जनआस्थालगायतका दैनिक तथा साप्ताहिक पत्रिकाको बजारमा राम्रो प्रभाव थियो । त्यसकारण पनि निर्माताहरु पत्रपत्रिकामा समाचारसँगै विज्ञापनलाई पनि प्राथमिकता दिन्थे । बिहानको समयमा चिया पिउँदै पत्रपत्रिका हेर्ने बानीले गर्दा दर्शकलाई फिल्मप्रति चासो राम्रै हुन्थ्यो ।
सिल्भर र गोल्डेन जुब्लीमा दर्शकसँग अन्तरक्रिया
सामाजिक सञ्जाल र मिडिया पहुँचका कारण अहिले कलाकारहरु क्षण–क्षणमै मिडियासँग ठोक्किइरहन्छन् । अर्थात फिल्म प्रचारप्रसारमा कलाकारको सक्रिय सहभागिता अहिले अनिवार्यजस्तै छ । तर पुरानो समयमा अवस्था त्यस्तो थिएन । नीरकाअनुसार दर्शकसँग कलाकारले अन्तरक्रिया अथवा साक्षात्कार गर्न फिल्मको ‘सिल्भर जुब्ली’ अथवा ‘गोल्डेन जुब्ली’ नै पर्खनुपथ्र्यो ।
अधिकतम एक लाख खर्च
अहिले कुनैपनि फिल्मको विज्ञापन गर्नुप¥यो भने निर्माताको अधिकतम १५ देखि २० लाखसम्म खर्च हुन्छ । यो खर्च अनलाइन र सामाजिक सञ्जालमा दिइने विज्ञापनवापतको हो । नीरकाअनुसार उनको समयमा एक लाख रुपैंयाँमा फिल्मको प्रचारप्रसार गर्नु उनकै भाषामा ‘भयंकर’ नै हुन्थ्यो ।निर्माता ओझा फिल्मको लागत अनुसार प्रचारप्रसार खर्च छुट्याइने गरिएको खुलाउँछन् ।
बक्सअफिस मानक
पुरानो समयमा अहिले जस्तो बक्सअफिस थिएन । हल सञ्चालकले दिएको हिसावमै निर्माताहरुले चित्त बुझाउनुपथ्र्यो । ‘हल सञ्चालकले जे हिसाब दियो, त्यही हिसाबमा आफूसँग आएको हिसाब देखाएर चल्यो वा चलेन भन्ने थाहा हुन्थ्यो । अहिलेको जस्तो पारदर्शी थिएन | निर्माता ओझा फिल्मको प्रदर्शन अवधिका आधारमा हिसावकिताव हुने गरेको बताउँछन् । ‘शुक्रवार र शनिवार फिल्म लाग्दा मारामार हुन्थ्यो । दुई दिनको व्यापारले नै निर्माता ढुक्क हुन्थे । किनभने हल संख्या सीमित थियो । राम्रो फिल्म रहेछ भने दुई दिनपछि पनि निरन्तर अघि बढ्थ्यो । नराम्रो रहेछ भने तीन दिनदेखि चल्दैन थियो’, छवि भन्छन् ।




