युटयुबमा फिल्म | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०७९, मंगलबार

युटयुबमा फिल्म

film

काठमाडौँ, १ साउन । फिल्म प्रचारका लागि अचेल डिजिटल प्लेटफर्म प्रयोग गर्ने चलन बढदो छ । सामाजिक सञ्जाल, भिडियो सेयरिङ साइट र एपमार्फत फिल्मसम्बन्धी जानकारी बाँडेको देखिन्छ ।

रोड सो, भित्ते पोस्टर, स्कुल, कलेज भ्रमण जस्ता परम्परागत शैली पनि थोरबहुत यथावत् छन् । माइकिङ गर्दै फिल्मको रिलिज मितिदेखि अन्य विवरण सुनाउने चलन चाहिँ अब मासिए बराबर छ । डिजिटल प्रचारमा फिल्मको प्रोमो,टिजर, गीत र ट्रेलरमार्फत दर्शकको ध्यान खिच्ने काम गरिन्छ । तिनलाई युटयुब, रेडियो, टेलिभिजन र हलहरूमा वितरण गरिन्छ । फिल्मका डिजिटल अधिकार धनीले अनलाइन पोर्टल र मोबाइल एप्लिकेसनमार्फत पनि फिल्मको विज्ञापन गरिरहेका हुन्छन् । अर्कातिर, पहिलेझैं ‘म्यानुअल्ली’ प्रचारप्रसार गर्ने काम पनि सँगसँगै भइरहेको हुन्छ । सामान्य किसिमको प्रचारका लागि समेत १०–१२ लाख रुपैयाँ खर्च हुने निर्माताहरू बताउँछन् ।

‘कोही अभिनेता,अभिनेत्री रेस्टुरेन्टसँग मिलेर ग्राहकलाई खाना डेलिभर गराइरहेका हुन्छन् भने कोही टोलटोलमा पुगेर म्युजिकल कार्यक्रम गर्छन्,’ निर्माता निर्देशक असीम शाह भन्छन्, ‘प्रचारका आआफ्नै तरिका छन् ।’ फिल्मलाई व्यावसायिक रूपमा सफल बनाउन निर्माताले प्रमोसनमा बढीमा ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको उनको भनाइ छ ।

अचेल कस्तो भएको छ भने, प्रमोसनल सामग्री (गीत, ट्रेलर, टिजर आदि) बाट पनि आकर्षक आम्दानी हुन्छ । जस्तो कि, असीमकै फिल्म ‘दुई रुपैयाँ’ को प्रमोसनल सङ ‘कुटुमा कुटु’ सर्वाधिक चल्यो । हालसम्म युटयुबमा यसको करिब ७ करोड भ्युज छ । १ करोड भ्युज हुँदा ५ लाखदेखि १० लाख रुपैयाँसम्म कमाइ हुने उनले बताए । ‘हामीले हाइलाइट्स नेपाललाई ९० लाखमा फिल्मको डिजिटल र इन्टरनेसनल राइट बेचेका थियौं,’ असीम भन्छन्, ‘उहाँहरूले गीतबाटै डिजिटल राइट किन्दाको लगानी उठाउनुभयो । यसलाई उहाँहरूको गुडलक मानौं ।’

युटयुबमा फिल्मसम्बन्धी कन्टेन्ट राख्ने हाइलाइट्स नेपाल, बूढासुब्बा डिजिटल, ओएसआर डिजिटल, म्युजिक नेपालजस्ता च्यानलले प्राय सुरुमै फिल्मको सम्पूर्ण डिजिटल राइट किन्ने गरेका छन् । यसो गर्दा कहिले फाइदा त कहिले घाटा हुने गरेको बूढासुब्बाका नवराज गिरी बताउँछन् । ‘घाटालाई नाफा भएको फिल्मले कभर गरिदिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘सम्पूर्ण राइट्स किनेको छ भने नाफा सबै हाम्रो हुन्छ । पछि बाँडफाँड गर्ने सहमति छ भने त्यहीअनुसार हिसाब गर्छौं ।’

प्राय २५ लाखदेखि ३० लाख रुपैयाँसम्ममा युटयुब एग्रिगेटर्सलाई फिल्मको डिजिटल अधिकार बेच्ने गरिएको निर्माताको भनाइ छ । एग्रिगेटर्सले सुरुमै फिल्म किन्ने सर्त मान्ने तर पछि बाँडफाँड गर्ने सर्तचाहिँ नमान्ने गरेको गोविन्द शाही बताउँछन् । ‘लिलीबिली’, ‘लभसभ’, ‘आभास’ जस्ता फिल्मका निर्माता शाही आफूहरू मारमा परेको ठान्दा रहेछन् । भन्छन्, ‘उहाँहरू प्रिसेल मात्र रुचाउनुहुन्छ । हामीले सुरुमै फिल्मको डिजिटल राइट बेच्नुपर्छ । पछि बाँडफाँड गर्ने गरी अहिलेसम्म कुनै निर्माता र युटयुब च्यानलबीच सम्झौता भएको छैन । हामी सुरुमै डिजिटल राइट बेच्न बाध्य छौं ।’

हाइलाइट्स नेपालका महाप्रबन्धक जनक तामाङ भने निर्माताहरूले गुनासो गर्नु व्यर्थ रहेको बताउँछन् । आफूहरूले कसैसँग जबरजस्ती गर्ने नगरेको दाबी गर्दै उनी भन्छन्, ‘दुई पक्षको समझदारीमा काम हुन्छ । दुवै पक्षलाई सुरुमा उत्तिकै रिस्क हुन्छ । फिल्म चल्छ भन्नेमा हामी ढुक्क हुँदैनौं, फिल्म धेरै चले के होला भन्नेमा उहाँहरू ढुक्क हुनुहुन्न । यो गेम यस्तै हो ।’ सुरुमै डिजिटल राइट नकिनिएका फिल्ममा ८० :२० को सम्झौता हुने उनको दाबी छ । यसको अर्थ हो— मुनाफाको ८० प्रतिशत निर्मातालाई र २० प्रतिशत युटयुब च्यानललाई ।

निर्मातासमेत रहेका अर्का फिल्म निर्देशक विकास आचार्यले चाहिँ आफूले युटयुब कम्पनी (एग्रिगेटर्स) सँग बार्टरमा सम्झौता गर्ने गरेका छन् । उनी फिल्मको प्रचारप्रसारको जिम्मा डिजिटल राइटहोल्डरलाई दिँदा रहेछन् । ‘यति गरेपछि मेरो पब्लिसिटी खर्च जोगियो,’ उनी भन्छन्, ‘राइट बेचेपछि उहाँहरूले त्यसबाट कति आम्दानी गर्नुहुन्छ भन्नेसँग मेरो सरोकार रहेन ।’

शाहीलाई भने खासमा युटयुब च्यानल र निर्माताबीच आधाआधा हिसाबले बाँडफाँड हुनुपर्छ भन्ने लाग्छ । ‘हामीकहाँ सिस्टम नै बसेको छैन,’ उनी भन्छन्, ‘कि त आफ्नै च्यानलबाट प्रमोसन गर्नुपर्‍यो कि, युटयुब कम्पनीहरू जे भन्छन् त्यही मान्नुपर्‍यो ।’ च्यानलहरूले ९९ वर्ष अर्थात् सधैका लागि डिजिटल राइट किन्ने गरेकोप्रति पनि निर्माताको चित्त दुखाइ छ ।
बूढासुब्बाका गिरी आफूहरूले सुरुमा ‘अस्तित्व रहुन्जेल’ का लागि फिल्मको अधिकार किन्ने गरे पनि अचेल निर्मातासँग सल्लाह गरेर निश्चित अवधिका लागि मात्र डिजिटल अधिकार लिने गरेको दाबी गर्छन् । कान्तिपुरबाट