काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा आज घरेलु टोली नेपालले ओमानको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल बिहान ९ः३० बजे शुरु हुनेछ । संयुक्त अरब एमिरेट्स (यूएई) र ओमान सम्मिलित यस श्रृङ्खलामा नेपालले हालसम्म तीन खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालले यूएईविरुद्धका दुवै खेलमा जित दर्ता गरेको थियो । आजको खेलमा ओमानलाई पराजित गर्दै नेपाल यस श्रृङ्खलाबाट थप दुई अङ्क जोड्ने लक्ष्यमा छ । यसअघि शिर्ष क्रमका ब्याटरहरूको फितलो प्रदर्शनपछि मुख्य प्रशिक्षक स्टुआर्ट लले टोलीमा केही परिवर्तन गरेका थिए ।
यूएईविरुद्धको दोस्रो खेलमा ओपनर कुशल भुर्तेल र आशिफ शेखलाई विश्राम दिँदै विनोद भण्डारी र अर्जुन कुमाललाई मौका दिइएको थियो, जसले सुखद् नतिजा निकालेको थियो । नेपालका लागि एकदिवसीय (ओडीआई) वरीयता जोगाउन लिग–२ को अङ्क तालिकामा शिर्ष ६ भित्र रहनु अनिवार्य छ । हाल नेपाल २३ खेलबाट १६ अङ्कसहित सातौँ स्थानमा छ । नेपालको तुलनामा बलियो स्थितिमा रहेको ओमान २७ खेलबाट ३१ अङ्कसहित तेस्रो स्थानमा छ । वरीयता सुरक्षित गर्नुपर्ने दबाबमा रहेको नेपाली टोलीले यसअघि पनि लिग–२ को अन्तिम चरणमा उत्कृष्ट पुनरागमन गरेको इतिहास छ । आजको खेल नेपाली टोलीका लागि अङ्क तालिकामा सुधार गर्ने र वरीयताको यात्रा सहज बनाउने महत्त्वपूर्ण अवसर हो ।




