काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गरेको छ । मन्त्रालयकाअनुसार वैशाख १५ गतेदेखि देशभरमा ७ सय ५३ वटै स्थानिय तहमा ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो । वैशाख ३० गतेसम्म दुई साता सञ्चालन हुने अभियानमा बालबालिकाको पोषण अवस्था पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँकाअनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गरी कुपोषण भएका बालबालिकाको उपचार गरिनेछ ।
स्वास्थ्य संस्था, स्वास्थ्य केन्द्र, सामुदायिक भवन तथा वडा कार्यालयमार्फत बालबालिकाको पोषण अवस्था सम्बन्धी तथ्यांक संकलन गरिने उहाँले बताउनु भयो । लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाई मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ । यस अभियानबाट प्राप्त हुने तथ्यांकले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग गर्ने मन्त्रालयले जनाएको छ । संकलित तथ्यांकका आधारमा स्थानीय, जिल्ला र प्रदेश तहमा कुपोषणको अवस्था विश्लेषण गरिने र त्यसैअनुसार आगामी कार्यक्रम तथा बजेट निर्धारण गरिने मन्त्रालयको योजना छ ।
मन्त्रालयले लेखाजोखा पश्चात स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ । अभियानले भविष्यमा कुपोषणका कारण बालबालिकामा देखिने शारीरिक कमजोरी, कम प्रतिरोधात्मक क्षमता र अन्य स्वास्थ्य समस्यालाई न्युनिकरण गर्ने लक्ष्य राखेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । मन्त्रालयले अभियानको संवेदनशीलता बुझेर अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा नागरिकलाई सही तथ्यांक उपलब्ध गराउन र सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।




