१४ % बालबालिकामा कुपोषण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१४ % बालबालिकामा कुपोषण

नेपालगन्ज, १७ फागुन । डुडुवा गाउँपालिका–३ स्थित तिवारीपुरुवा, बाबुपुरुवा, मोल्वीपुरुपाका अधिकांश बालबालिकामा कुपोषणको समस्या छ । कुपोषणकै कारण पुड्कोपना, मोटोपना र विभिन्न शारीरिक तथा मानसिक समस्या देखिएका छन् ।

मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको क्षेत्रमा कुपोषणको समस्या बढ्दै गएको छ । सामाजिक–सांस्कृतिक मूल्य मान्यताका कारण दुई वर्षमुनिका बच्चालाई पर्याप्त स्तनपान र खानपिनमा ध्यान नदिंदा कुपोषणको समस्या बढ्दै गएको हो । विभिन्न संघसंस्थाको सहयोगमा जिल्लाका अधिकांश स्थानीय तहमा सुआहारा कार्यक्रम लागू भए पनि त्यसको प्रतिफल नदेखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेका १४ प्रतिशत बालबालिकामा कुपोषणको समस्या छ । पहाडी जिल्लामा कुपोषणको दर ८ प्रतिशत रहे पनि तराईका जिल्लामा बढी रहेको कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन (सम्पर्क व्यक्ति) वसन्त गैरेले बताए । उनका अनुसार स्वास्थ्य संस्थामा तौलन आउने बच्चामध्ये करिब २ प्रतिशत बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ ।

त्यस्तै ४ दशमलव ८७ प्रतिशत बालबालिकामा मध्ययम खालको कुपोषण भेटिएको उनले जनाए । कार्यालयका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य संस्थामा तौल लिन आएका १२ हजार ९९ जना दुई वर्षमुनिका बालबालिकामध्ये ५ सय ९० जनामा मध्यम खालको कुपोषण देखिएको थियो । त्यस्तै १ सय ३४ जनामा कडा खालको कुपोषण देखिएको कार्यालयले जनाएको छ ।

दीर्घ कुपोषणका कारण पुड्कोपन, ख्याउटेपना तथा अन्य शारीरिक समस्या आउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्यकर्मीका अनुसार पोषणको समस्याले एक्कासि बिरामी हुने बालबालिकाको समस्या बाँकेमा धेरै छ । भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुन:स्थापना केन्द्रका अनुसार वर्षमा २ हजार ५ सय जनासम्म बालबालिकाको उपचार हुने गरेको छ । यहाँका स्वास्थ्य संस्थाले कुपोषणको समस्या भएका बालबालिकालाई पुन:स्थापना केन्द्रमा पठाउने गरेका छन् । झाडापखाला, निमोनिया भएका ६० प्रतिशत बच्चाहरू कुपोषणकै कारणले मर्ने गरेको गैरेले जनाए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);