तीन सदस्यीय मन्त्रिपरिषद् | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

तीन सदस्यीय मन्त्रिपरिषद्

lal babu rahut

जनकपुर,४ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीमा बुधबार नियुक्त राउतलाई बिहीबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनीयताको शपथ गराएका हुन् । पद तथा गोपनीयताको शपथसँगै राउतले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

मन्त्रिपरिषद्मा सहभागी संघीय समाजवादी फोरमका विजय यादवले आर्थिक मामिला तथा योजना मन्त्रालय र राजपाका जितेन्द्र सोनलले भौतिक पूर्वाधार, सामाजिक विकास एंव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरूले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए । मुख्यमन्त्री राउतले आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पनि जिम्मेवारी लिएका छन्।

शपथ समारोहमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, उच्च अदालत, जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाई, प्रदेश मुख्य सचिव राजेश्वरमान सिंह, सामाजिक अभियन्ता तुलानारायण साह, दीपेन्द्र झा, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यलगायत उपस्थित थिए।

शपथ चार भाषामा
प्रदेश प्रमुख कायस्थले नेपाली भाषामा शपथको बेहोरा उच्चारण गरे पनि तीनजनाले तीनथरी भाषामा शपथ लिए । मुख्यमन्त्री राउतले भोजपुरी, मन्त्रीद्वय सोनलले हिन्दी र संघीय फोरमका यादवले मैथिली भाषामा शपथ लिए । यसअघि प्रदेशसभा सदस्यले पनि चार भाषामा शपथ लिएका थिए। शपथ सकिएलगत्तै संघीय फोरमका अध्यक्ष यादवले मञ्चमा पुगेर मुख्यमन्त्री राउतलाई फूलमालासहित बधाई दिँदै संघीयताको विजयोत्सव मनाउन सबैलाई आग्रह गरे।

मूलमन्त्र पाँच ‘स’
ईश्वर र सहिदका नाममा पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री राउतले आफूले पहिला मधेस आन्दोलनका सहिद, सहिद परिवार र घाइतेको पक्षमा काम गर्ने बताए । सहिद परिवारलाई उचित सहयोग र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता उनले जाहेर गरे।

प्रदेशवासीलाई स्वाभिमानपूर्वक सुरक्षित जीवनयापनको अनुभूति गराउने पनि बताए । उनले जानकी मन्दिर, छिन्नमस्ता सखरा भगवती मन्दिर, सलहेस फूलबारी, गढीमाई, विन्दवासिनी, सिम्रौनगढलगायत ऐतिहासिक धरोहर स्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जाहेर गरे । कृषिमा आधुनिकीकरण, सिँचाइ, शैक्षिक विकास, हुलाकी राजमार्ग, रेलवे निर्माण तथा विस्तार लगानीको वातावरण निर्माण पनि प्राथमिकतामा रहने उनले बताए । उनले समुन्नत प्रदेश निर्माणका लागि पाँच ‘स’ सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइ लाई सरकारले मूलमन्त्र बनाउने बताए। भोजपुरी भाषामा शपथ लिएका मुख्यमन्त्री राउतले समारोहलाई हिन्दी भाषामा सम्बोधन गरे भने प्रतिबद्धता नेपाली भाषामा जाहेर गरे।

राउतले मुख्यमन्त्रीको शपथ लिइरहेको दर्शक दिर्घामा बसेर नियालिरहेको उनका बाबु ७३ वर्षीय दशरथ हर्षविभोर देखिन्थे । ‘निकै खुशी छु आज । मेरो छोरा प्रदेश मुखिया बनेपछि मभन्दा बढी खुशी हुने को होलान् र ’ दशरथले नागरिकसँग भने । उनले छोराको बाल्यकाल सम्झँदै भने, ‘मेरो खानदान नै लड्ने भिड्ने हो । बुवा खलिफा हुनुहुन्थ्यो । म पनि खलिफा । लालबाबु निकै पातलो थियो । छोराको शरीर लड्न कुस्ती खेल्न उपयुक्त नभएको भन्दै मेरो बुवाले उनलाई पढाइलेखाइतिरै छोड्दिन भन्नुभयो । आज मेरो बुवा त हुनुहुन्न तर उहाँको नाति प्रदेश मुखिया भए ।’ दर्शकदिर्घामै बसेका लालबाबुका भाइ रामबाबु र छोरा साजिद तथा दाउद पनि गद्गद् थिए ।  राउत मुख्यमन्त्री भएपछि उनको गृहनगर वीरगन्जमा पनि खसियाली मनाइएको छ। आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);