फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव

काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।  आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनको सम्बन्धमा औपचारिक छलफल सुरु गरेको हो ।

छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

छलफलमा पाँच राजनीतिक दल नेकपा (एमाले) का नेताहरू राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, केशव झा र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, डा. शिवजी यादवको सहभागिता रहेको थियो ।

आयोगका तर्फबाट आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाह तथा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए ।

संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो ।

चैत्र भित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी गरेको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता रहनेछन । बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको खर्च विवरण बुझाउन ढिलाई नगर्न पनि सचेत गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);