काठमाडाैं । देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरालगायतका जिल्लामा हिमपात भएको हो ।
गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् । हिमपात भएसँगै नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छ । जुम्लामा पनि हिमपात भएको छ ।
हिउँद लागेपछि विगतमा पुसमै पानी परेर हिउँ पर्ने गर्थ्याे तर यस पटक ढिला हिमपात भयो । हिउँदेबाली सुक्न थालेका बेला हिमपातले राहत पुगेको छ । यसैबीच जुम्लाको न्यूनतम तापक्रम माईनसमा छ । हिमपातले जनजीवन भने सामान्य प्रभावित भएको छ ।
त्यस्तै बैतडीको उच्च क्षेत्र खोड्पे, श्रीभावर, सतबाँझलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिमपात भइरहे पनि सडकमा समस्या नरहेको प्रहरीले जनाएको छ । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुराको सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको छ । वर्षा र हिमपातले विशेषगरी हिउँदेबाली गहुँमा फाइदा पुग्ने भएको छ । चिसो केही बढेकाले जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँहरुमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । अहिले पश्चिमी वायुको प्रभावले मौसम बदली भएको र भोलिसम्म केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ





