उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित

उदयपुर । पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण भारी वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकैपछि बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको पानीसँगै हिमपात भएको हो । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाटदेखि पहाडी भेगमा चिसो बढेको हो । उदयपुरकै सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका-१ माझखर्क चित्रेथाम, दोबाटेमा बाक्लो हिमपात भई रहेको स्थानीयवासी सरोज थापा मगरले बताए । उनका अनुसार सामान्य हावाहुरीसँगै हिमपात एकै पटक परेपछि त्यहाँस्थित स्थानीय सर्वसाधरण घरबाट बाहिर निस्कन तथा आवतजावतमा समस्या भएको बताए ।

समुन्द्र सतहदेखि २ हजार ३ सय १० मिटर उचाइमा रहेको चित्रेथानमा दशक यताकै सबैभन्दा बढी बाक्लो हिमपात भएको बताएका छन् । रौतामाई गाउँपालिका वडा नम्बर १ नामेटारको चित्रेथानमा हिउँ परेपछि हिउँ खेल्न विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम जारी रहेको मगरले बताए । 

हिउँमा खेल्दै गरेको र हिमपात भइरहेको भिडियो र तस्बिरसमेत टिकटक र फेसबुकलगायतका सामाजिक सञ्जालमा राखेका छन् । चित्रेथान उदयपुरको एक मात्र हिउँ पर्ने ठाउँ हो । हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । मार्भखर्क, चित्रेथाम, दोबाटेमा हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान पालिकाले आग्रह गरेको छ । हिमपातले वृद्धवृद्धा र बालबालिकालाई तातोमा राख्न, पोसिला र ताता झोल कुरा खुवाउन तथा घरभित्रका कोठामा आगो ताप्दा झ्याल ढोका खोल्न समेत अनुरोध गरिएको छ ।

समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरी गाई, भेंडाबाख्रा लगायत चौपायाको आहारामा सङ्कट परेको छ । हिमपातको असरले गाउँ-समाजमा कुनै समस्या आएमा तुरुन्तै प्रहरीलाई खबर गर्न भनिएको छ । वर्षासँगै भारी हिमपात चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा हिउँ परेको हो । 

हिउँले चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा आसपासका क्षेत्र, बस्ती पुरै सेताम्मे बनेका छन् । भारी हिमपातका कारण उच्च क्षेत्रमा पर्ने नामेटार, चित्रेथार र रौताको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै परेको हिमपातको कारण बढेको अत्यधिक चिसोले स्थानीयलाई घर बाहिर निस्कन समस्या परेको नामेटारका स्थानीय बासिन्दा कृपासुर तामाङले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);