मुख्यमन्त्री पौडेलकाे सपथ अाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुख्यमन्त्री पौडेलकाे सपथ अाज

dormani paudel

मकवानपुर,२९ माघ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले प्रदेश नम्बर ३ संसदीय दलको नेता चुनिएका उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि पौडेललाई मुख्यमन्त्री बनाउन एमालेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो ।

प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आइतबार साँझ पत्रकार सम्मेलन गरी पौडेल मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिए । एमाले संसदीय दलका नेता पौडेलले एमालेका ५८ सांसदको हस्ताक्षरसहितको पत्र र माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कटेलको समर्थनपत्र दिउँसो साढे १ बजे प्रदेश प्रमुख कार्यालयमा बुझाएका थिए।

सो पत्र पाएपछि प्रदेश प्रमुख कोइरालाले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम ७२ वर्षीय पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेशप्रमुख कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा सोमबार बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

संसदीय दलको नेता चुन्न शुक्रबार ललितपुरमा भएको निर्वाचनमा पौडेलले प्रतिस्पर्धी पार्टी केन्द्रीय उपाध्यक्ष एवं ३ नम्बर प्रदेश कमिटी संयोजक रहेकी अष्टलक्ष्मी शाक्यलाई १० मतले पछि पार्दै जित हात पारेका थिए । पौडेलले ३४ मत पाएका थिए । प्रतिस्पर्धी शाक्यले २४ मत पाएकी थिइन् । पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली समूहबाट र शाक्य वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए।

पौडेलको राजनीतिक यात्रा
काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा २००२ साल चैत १५ गते जन्मिएका पौडेल हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा हुन्। मायानाथ र कुलकुमारीका २ छोरामध्ये डोरमणि जेठा हुन् । उनका ५ दिदीबहिनी छन् । उनले मानविकी संकायमा स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् । उनले प्रारम्भिक शिक्षा फर्पिङको त्रिभुवन आदर्श बोर्डिङ स्कुलबाट लिएका थिए।

२०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ देखि पार्टी राजनीतिमा सक्रिय भएका हुन । एमाले मकवानपुरका पूर्वजिल्ला सदस्य रहेका उनी हाल पार्टी ३ नम्बर प्रदेश कमिटी सदस्य छन् । उनी दुईपटक हेटौंडा नगरपालिकाको मेयर भएका छन्।

पौडेल ३ नम्बर प्रदेशसभाका ज्येष्ठ सदस्य हुन् । ज्येष्ठ सदस्यको हैसियतमा उनले प्रदेशसभा पहिलो बैठकको अध्यक्षता गर्दै सभामुखको भूमिका निर्वाह गरे । आफ्ना कुरा प्रस्ट राख्ने पौडेलले जुनसुकै हालतमा पनि हेटौंडालाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने तर्क गर्दै आएका छन् । उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सदस्यमा निर्वाचित भएका हुन्।

भूमिसुधार कार्यालय दाङ र त्यसपछि सडक विभागमा खरदार भएर केही वर्ष सरकारी जागिरे भएका उनी केही वर्ष शिक्षण पेसामा लागेका थिए । उनले हेटौंडाको नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा २०३२ देखि १० वर्षसम्म पढाएका थिए । शिक्षक हुँदा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध थिए।

उनले राजनीतिमा लागेपछि केही वर्ष अर्धभूमिगत जीवन बिताएका थिए । २०४६ सालको जनआन्दोलनका बेला तत्कालीन सरकारले पौडेलको टाउकाको मूल्य तोकेपछि उनी ५६ दिन भारतमा बसेका थिए । राजनीतिमा लागेकै कारण उनी पटकपटक जेल पनि बस्नुपर्‍यो। पौडेल २०४८ र २०५४ मा तत्कालीन हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी २०५४ सालदेखि नेपाल नगरपालिकाका संघको अध्यक्ष पनि छन्।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, स्थानीय सरकार तथा सहरहरुको विश्व संस्था युसिएलजीका एसिया प्यासिफिक उपाध्यक्ष, सिटीनेटका कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष, सहिद स्मारक विकास समितिको अध्यक्षसमेत हुन्।

उपसभामुखमा तामाङ
यसैबीच प्रदेश नम्बर ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेशसभा बैठकले सोमबार उनलाई उपसभामुख चयन गरेको हो । यो पदमा अरुको उम्मेदवारी नपरेपछि तामाङ निर्विरोध भएकी हुन् । एमाले संसदीय दलका नेता डोरमणि पौडेलले तामाङलाई उपसभामुख बनाउन प्रदेशसभा बैठकमा प्रस्ताव गरेका हुन् । माओवादी केन्द्र संसदीय दलकी उपनेता कुमारी मोक्तानले सो प्रस्तावको समर्थन गरिन्।

उपसभामुखमा निर्विरोध भएको घोषणालगत्तै तामाङलाई प्रदेशसभा भवनमै रहेको सभामुखको कक्षमा शपथ गराइयो । सभामुख सानुकुमार श्रेष्ठले उनलाई शपथ गराए । उनले आइतबार नै पदभार समालिन् । उनले आ०नो जिम्मेवारी निष्पक्ष ढंगले पूरा गर्ने बताइन्।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य तामाङ नुवाकोट १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । २०४० सालमा नुवाकोटमा जन्मिएकी ३४ वर्षीया तामाङले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन् । उनी माओवादी द्वन्दका बेला नुवाकोट जनसकार प्रमुख थिइन् । २०७० सालमा माओवादी केन्द्रबाट दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेकी उनी पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारमा कृषि राज्यमन्त्री थिइन्। सभामुख पनि एमालेका सानुकुमार श्रेष्ठ शनिबार निर्विरोध निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबारै शपथ गराएकी थिइन्। नागरिक दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);