काठमाडौँ,
नेपालमा पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका दक्ष जनशक्ति उत्पादन गर्न थालिएको छ । फरक क्षमता भएका व्यक्तिहरुलाई नेपालमा भित्र्याउनको लागि नेपाल पर्यटन बोर्डले सोहीअनुसारको दक्ष जनशक्ति तयार पार्न लागेको हो । महिला गाइड तथा ह्वीलचियर पदमार्ग निर्माण लगायतको कार्य गरेको बोर्डले पछिल्लो समय बहिरा गाइड उत्पादन गर्न तालिम सञ्चालन गरेको छ । बोर्डको सहकार्यमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) ले नेपालमा पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो ।
नाथमले दिगो पर्यटन परियोजनाअन्तर्गत सस्टेनेबल टुरिजम डेभलपमेण्ट प्रोजेक्ट (एसटीपी), राष्ट्रिय बहिरा महासंघ नेपाल र बोर्डको सहकार्यमा कात्तिक १८ गतेबाट तालिम सञ्चालन गरिरहेको छ । तालिममा देशका सात वटै प्रदेशबाट २५ जना सहभागी छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले विश्वमा करिव ४० करोड भन्दा बढी पर्यटकहरुको श्रवण शक्ति नरहेको बताउनु भयो । ती पर्यटकहरुलाई नेपालमा भित्र्याउनको लागि भाषा, पहुँच र सहयोगसम्बन्धी समस्या हुने भएकोले बहिरा व्यक्तिहरुलाई नै तालिम दिइएको उहाँको भनाई छ । नेपाललाई सहज पर्यटक गन्तव्यका रुपमा स्थापित गर्न यस किसिमका विशेष गाइड तयार गर्नुपर्ने आवश्यकता भएको उहाँले बताउनु भयो । उहाँले फरक क्षमता भएका पर्यटकका लागि विशिष्ट सेवा दिने गाइड नहुँदा उनीहरूमा नेपाल आउँदा आत्मविश्वास कम देखिने गरेको र यो तालिमले त्यसमा ठूलो सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।
सिईओ जोशीले तलिमप्राप्त बहिरा गाईडहरुको रोजगारीका लागि ट्राभल एजेन्ट, टुर ट्राभल्सहरुसँग समन्वय गर्ने जानकारी दिनुभयो । साथै विमानस्थल, विभिन्न देशका राजदुतावास, सूचना केन्द्रहरुमा उनीहरुको सम्पर्क नम्बरसहित जानकारी उपलब्ध गराइने बताउनु भयो । उहाँले हाल एकखालको पर्यटकलाई मात्र सेवा सुविधा दिने प्रचलन बढेकोले समावशेवी पर्यटनलाई पनि प्रवद्र्धन गर्न यो तालिमको आयोजना गरेको जानकारी दिनुभयो । बोर्डले ह्वीलचियर युज गरेर हिँड्ने पर्यटकहरुको लागि हाल केही ट्रेकिङ ट्रेलहरु निर्माण गरेर नेपालको एकदम राम्रो सुन्दर छवि प्रचारित गरिएको पनि उहाँले बताउनु भयो । उहाँले बोर्डको मुख्य उद्देश्य नै सबै प्रकारका पर्यटकहरु नेपाल भित्र्याउनु र फरक क्षमता भएका व्यक्तिहरुले पनि पर्यटनसँग जोडिएर रोजगार पाउन भन्ने रहको जानकारी दिनुभयो ।
उहाँले यस्ता तालिमहरु आवश्यकताका आधारमा आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताउनु भयो । उहाँले महिलाहरुको लागी पनि छुट्टै महिला गाईड नै उत्पादन गरिएको जानकारी दिनुहुँदै बहिराहरुको लागि पनि मागको आधारमा जनशक्ति तयार गर्ने बताउनु भयो । साथै तालिम लिएकाहरुलाई आगामी दिनमा एड्भान्स लेवल पनि दिने जानकारी दिनुभयो ।
नाथमका प्रिन्सिपल अजयकुमार ढकालले नेपालकै पर्यटन इतिहासमा बहिरा समुदायका लागि ट्रेकिङ गाइड तालिम पहिलोपटक गरिएको बताउनु भयो । देशभरिबाट आएका ५०–६० बढी आवेदकमध्ये २५ जना छनोट गरी तालिम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय बहिरा महासंघ, नेपालले छनौट गरेर पठाएको उहाँको भनाई छ । देश विदेशका धेरै बहिरा पर्यटकहरू नेपाल घुम्न आउने गरेको तथ्यलाई ध्यानमा राखेर यो तालिम शुरु गरिएको हो । उहाँले बिहान ७ बजेदेखि साढे १० बजेसम्म तालिम दिइरहेको बताउनु भयो ।
उहाँले सहभागीहरु उत्साहित भएर तालिम लिइरहेको जानकारी दिनुभयो । उहाँले नाथमबाट तालिम लिएर गएपछि तत्काल रोजगारीको लागि योग्य हुने बताउनु भयो । विदेशी पाहुनालाई नेपालका डाँडाकाँडामा, गाउँघरमा लगेर ट्रेकिङ गराउने र त्यहाँका ग्रामीण, सांस्कृतिक, धार्मिक, प्राकृतिक कुराहरू बताएर एउटा नेपाल चिनाउने काम उहाँहरुले गर्ने उहाँको विश्वास छ । उहाँले आगामी दिनमा नाथमले यस्ता किसिमका तालिमलाई विशेष जोड दिने जानकारी दिनुभयो । यो तालिम नेपालकै पर्यटन क्षेत्रको इतिहासमा राम्रो, नौलो र एउटा प्रभावकारी तालिम हुने उहाँको दाबी छ । तालिम पश्चात उनीहरुको रोजगारीको लागी पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गरेर सहजीकरण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
करिव १० लाख रुपैयाँ अनुमानित लागतमा सञ्चालन भइरहेको यो तालिम पाँच हप्ता चल्ने उहाँले जानकारी दिनुभयो । तालिममा सहभागीहरूलाई खाजा, खाना, प्रशिक्षक शुल्क, फील्ड भिजिट तथा यातायातका सबै खर्च परियोजनाले व्यहोर्ने व्यवस्था छ । तालिम प्रत्येक दिन बिहान ७ बजेदेखि साढे १० बजेसम्म सञ्चालन भइरहेको उहाँले बताउनु भयो ।
३० वर्षदेखि नाथममा सेवारत पर्यटन तालिम संयोजक रतनबहादुर साउदले पाँच हप्ते तालिममा चार हप्ता सैद्धान्तिक र एक हप्ता व्यावहारिक कक्षाहरू राखिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सैद्धान्तिक कक्षामा ट्रेकिङ, फस्र्ट एड, भूगोल, वातावरण, संस्कृति–धर्म, कोड अफ कन्डक्ट, गाइडिङ टेक्निकलगायत १७–१८ विषय समावेश छन् । व्यावहारिक कक्षामा क्याम्प व्यवस्थापन, हाइकिङ, क्याम्पिंग, रक क्लाइम्बिङ, पर्यावरण संरक्षण तथा आतिथ्य व्यवस्थापन सिकाइने उहाँले जानकारी दिनुभयो ।
उहाँले तालिमको क्रममा मूल्यांकन समेत गरिने जानकारी दिनुभयो । मूल्यांकन लिखित परिक्षा, अनुशासन, उहाँहरुको रुचीको आधारमा गरिने बताउनु भयो । १०० पूर्णाङ्कमा मूल्यांकन गरेर ग्रेडिङ ए, बी, सी गरेर तीन वटा ग्रेडमा सर्टिफिकेट दिने उहाँको भनाई छ । यो सर्टिफिकेट नाथमले दिइसकेपछि उहाँहरूले लाइसेन्स पाउने र लाइसेन्स प्राप्त गरिसकेपछि नेपालको कुनैपनि क्षेत्रमा गएर ट्रेकिङ गाइडको रूपमा काम गर्नु सक्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले प्रत्येक कक्षामा सांकेतिक भाषाको लागि दोभाषेको व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रशिक्षकहरूले भिजुअल, लेखन सामग्री, चित्र तथा सांकेतिक भाषाको सहायताले तालिम दिईरहेको उहाँले बताउनु भयो । प्रशिक्षकबाट प्रशिक्षण गराएको कुराहरु दोभाषेको माध्यामबाट प्रशिक्षार्थीसम्म पु¥याउने गरेको उहाँको भनाई छ । तालिममा २० वर्षदेखि ५५ वर्षसम्मका ४ महिला र २१ पुरुष सहभागी रहेका छन् । नाथमले हालसम्म करिव २२ हजार ट्रेकिङ गाइड उत्पादन गरिसकेको छ । उहाँकाअनुसार पहिलोपटक बहिरा समुदायका २५ जना थपिँदैछन्, जुन पर्यटन क्षेत्रमा समावेशीकरणको नयाँ मोड हो ।





