काठमाडाैं । नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने हुनुभएको छ ।सभापति देउवा सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो ।
कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । जेनजी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी हुनु भएको छैन । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते देउवा र उहाँकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।
सैनिक निगरानीमा उपचारपछि उहाँहरु ललितपुरमा बस्दै आएको बताइएको छ । बुढानिलकण्ठस्थित निवास आगजनीबाट ध्वस्त भएपछि देउवा दम्पती ललितपुरमा बस्दै आएको भनिएपनि बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन ।
आजको बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे छलफल हुने नेताहरुले बताएका छन् । पार्टीको नियमित महाधिवेशन गर्ने एजेन्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाकाे मुद्दामा समेत आजको बैठकमा छलफल हुने बताइएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने तय भएको छ ।





