फागुन २१ को निर्वाचन : निर्णायक शक्तिकाे भूमिकामा जेन जी पुस्ता ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

फागुन २१ को निर्वाचन : निर्णायक शक्तिकाे भूमिकामा जेन जी पुस्ता !

नेपाल अब पुरानो राजनीतिक अभ्यासबाट मुक्त भएर नवीनत्तम सोच, स्वच्छ छवि र जिम्मेवार नेतृत्वतर्फ अघि बढ्नुपर्ने दोबाटोमा उभिएको छ । फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र नभइ नयाँ युगतर्फको अघि बढ्ने महत्वपूर्ण अवसर पनि हो । यो अवसरलाई देशको राजनीति, अर्थतन्त्र र सामाजिक संरचना समृद्धितर्फ लैजान युवाको नेतृत्व आउन जरुरी छ ।

 

नेपालको राजनीतिक इतिहास हेर्दा संक्रमण, अस्थिरता र सत्ताको चक्रव्यूहमा फसेको पाइन्छ । लोकतन्त्र प्राप्त भएपछिका वर्षहरूमा संविधान लेखियो, संघीय संरचना बनाइयो र प्रतिनिधिमूलक प्रणालीको अभ्यास गरियो, तर समृद्धि र सुशासन जनताले प्रत्यक्ष रूपमा अनुभूत गर्न सकेनन् । पुराना पुस्ताका नेताहरूले पटक–पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचार, नातावाद र व्यक्तिगत स्वार्थलाई संस्थागत बनाए । यस्तो अवस्थामा जेन जी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि आमनिर्वाचनको मिति घोषणा गरेको छ । घोषित निर्वाचन राजनीतिक प्रक्रिया अघि बढाउने निर्णय मात्र नभइ देशको नयाँ युगको थालनी हुने सम्भावना बोकेको सुनौलो अवसर पनि हो । अबको निर्वाचन जेनरेशन जेड अर्थात् युवा पुस्तालाई सांसद बनाइ नेतृत्वमा पु¥याउने ऐतिहासिक मौका हो ।

नेपालमा विगतका निर्वाचनहरूमा देखिएको एक मुख्य समस्या पुरानै अनुहारहरूको दोहोरो भूमिका र प्रयोग हो । जनताले तिनै नेताहरूलाई पटक–पटक जिताए, जसको नतिजा असन्तोष, असमानता र अविश्वासमै सीमित रहन पुग्यो । युवापुस्तामा राजनीति प्रतिको मोहभंग हुनुको मूल कारण उनीहरूले विकल्प नदेख्नु हो । तर पछिल्ला केही वर्षमा युवा पुस्ता राजनीतिमा जागरुक हुन थालेका छन् र शिक्षित, प्रविधिमा सक्षम, समसामयिक चासो बोकेको जेनरेशन जेड अर्थात् नव युवा अब मतदान गर्ने शक्ति मात्र होइन, नीति निर्माणमा पुग्ने र परिवर्तन ल्याउने निर्णायक शक्तिका रूपमा स्थापित हुने तयारीमा छन् ।

जेनरेशन जेडको प्रमुख विशेषता भनेको उनीहरू विचारमा प्रष्ट, व्यवहारमा पारदर्शी र कार्यशैलीमा जिम्मेवार छन् । उनीहरूले सत्ता सञ्जाल, पहुँच र गुटबन्दीले काम गर्ने पुराना पुस्ताको राजनीतिलाई अस्वीकार गर्छन् । नव युवाहरु नतिजा खोज्छन्, जवाफदेही नेतृत्व खोज्छन् । अबको निर्वाचनमा यदि राजनीतिक दलहरूले यस्ता युवाहरूमध्ये योग्य र समर्पित अनुहारहरूलाई टिकट दिएनन् भने, स्वतन्त्र उम्मेदवारमार्फत् पनि जनताले विकल्प खोज्ने सम्भावना थप बलियो भएको देखिन्छ ।

राजनीतिक दलहरूले पनि समयमै चेत्नुपर्छ । अहिलेको पुस्तालाई केवल नाराले झुक्याउन सकिदैन । जनताले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण जस्ता आधारभूत सवालमा काम गर्ने नेतृत्व खोजिरहेका छन् । यस्तो नेतृत्व दिन सक्ने सामथ्र्य नव युवामा छ । यस्ता युवाहरूले प्रविधिको प्रयोग गरेर सूचना पुर्याउन सक्छन्, जनतासँग प्रत्यक्ष संवाद गर्न सक्छन् र परिवर्तनको मुद्दा स्थापित गर्न सक्छन् । तसर्थ, राजनीतिक दलहरुले अब युवालाई कार्यकर्तामा सीमित नगरी अग्रपंक्तिको नेतृत्वकर्ता बनाउनु अपरिहार्य भइसकेको छ ।

फागुन २१ गतेको निर्वाचनको सफलता केवल सरकारले मिति घोषणा गरेर सुनिश्चित हुँदैन । यसका लागि नागरिक समाज, सञ्चारमाध्यम, शैक्षिक संस्था, बुद्धिजीवी, शिक्षाविद् र सम्पूर्ण मतदाताले जागरुक भएर भूमिका खेल्नुपर्छ । युवाहरूलाई राजनीति गर्न प्रेरित गर्ने वातावरण बनाउनुपर्छ । विश्वविद्यालयहरूमा राजनीतिक बहस, नेतृत्व विकास कार्यक्रम, नीतिगत चिन्तनका विषयमा छलफल शुरु गर्नुपर्छ । जनताले योग्य उम्मेदवार छनोट गर्न सक्ने गरी मतदाता शिक्षाका कार्यक्रम विस्तार गर्नुपर्छ । निर्वाचन आयोगले पनि निष्पक्षता, पारदर्शिता र प्रविधिमैत्री प्रक्रिया अपनाएर निर्वाचनप्रति जनविश्वास बढाउने वातावरण निर्माण गर्नुपर्छ ।

यस पटकको निर्वाचनको नतिजा केवल पाँच वर्षको सरकार बनाउने प्रक्रिया मात्र होइन, नेपालको भविष्यको दिशा तय गर्ने अवसर हो । संसदमा जाने प्रतिनिधिहरूले नीति बनाउने, कानुन निर्माण गर्ने र राज्यको कार्यदिशा निर्धारण गर्ने भएकाले अब सोचेर मात्रै नेतृत्व छान्नुपर्छ । पुराना अनुहारहरूले पटक–पटक देशलाई असफल प्रयोगशाला बनाएका छन् । अब नयाँ अनुहार, नयाँ सोच र नयाँ शैलीको नेतृत्व चाहिएको छ, जुन नेतृत्व जेनेरेशन जेड अर्थात नव युवाले दिन सक्छन् ।

Leave a Reply