मुसहर समुदायबाट स्नातक गर्ने पहिलो छात्रा सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

मुसहर समुदायबाट स्नातक गर्ने पहिलो छात्रा सम्मानित

सर्लाही । मुसहर समुदायबाट स्नातक अध्ययन गर्ने पहिलो छात्रा किरण कुमारी माँझी सम्मानित हुनुभएको छ । चन्द्रनगर गाउँपालिका–२ पर्ती बजारस्थित गौचरण आधारभूत अस्पतालमा आयोजित कार्यक्रममा छात्रा माँझीसहित उहाँकी आमालाई प्रतिनिधि सभा सदस्य चन्दा चौधरी र मधेशी महिला समाज, नेपालकी अध्यक्ष कन्चन चौधरीले सम्मान गर्नुभएको हो ।

सांसद चौधरीले छात्रा माँझीलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गर्दै अध्ययनमा थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले महिलाहरूका लागि विवाहको उमेर १८ वर्ष कायम गर्नु व्यावहारिक हुने बताउँदै यसले मधेशमा उमेर बढेपछि महिलाहरूका लागि विवाह गर्न कठिन हुने समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चन्द्रनगर गाउँपालिका तर्फबाट छात्रा किरण कुमारीलाई स्नातक अध्ययनका लागि ११ हजार रुपैयाँ सहयोग गर्नुभयो । माँझीको विवाहमा पनि गाउँपालिकाले ५० हजार सहयोग गर्ने अध्यक्ष महतोले बताउनुभयो ।

मधेशी महिला समाज नेपालले बालविवाहविरुद्ध जनचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरेको अध्यक्ष कञ्चन चौधरीले बताउनुभयो । उहाँले सम्मान कार्यक्रमले बालिकाहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चन्द्रनगर गाउँपालिकाको समन्वय र नेपाल भारत महिला मैत्री समाजको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

 

Leave a Reply