काठमाडाैं । गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व आइतबार मनाउन लागेका हुन्। शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ ।
शनिबार बेलुका गौराघरमा भित्र्याएको गौरालाई आइतबार बर्तालु महिलाले गौरा मन्दिरको गौराखला अर्थात् आँगनमा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो । बर्तालु महिलाले दिनभरि फाग गाएर बिरुडा अर्थात विभिन्न पाँच थरिका अन्नले गौरादेवीको पूजा गर्ने गरेकाछन् । हिजो गौरादेवीमा चढाएको दुबधागो अर्थात् मन्त्रिएको एक किसिमको धागो पनि आजै महिलाहरूले धारण गर्ने गर्छन् ।
गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । ब्रतालु गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तको दीर्घायुको कामना गर्दै पुज्ने गर्छन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्छन् । गौरा मनाउन परदेशिएकाहरू घर फर्किने तथा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास रहेका अन्य क्षेत्रमा पनि यो पर्व मनाउने गरिन्छ । काठमाडौको टुँडिखेलमा पनि देउडा गीत र नाच नाँच्ने गरिन्छ । गौरापर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । सरकारले आज र प्रदेश सरकारले भोलि गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।





