स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा

mahina mari education

रूपन्देही, २७ साउन । गुल्मीको मालिका गाउँपालिका–५, छापहिलेकी २८ वर्षीया गंगा खड्काले पढ्ने उमेरमा महिनावारीका कारण निकै समस्या झेलिन् । पीडा र हिंसा पनि उस्तै भयो । विद्यालयमा आफ्नै साथीसंगीले गिज्याए । त्यसको पीडामा धेरैपटक विद्यालय गइनन् ।

पहिलो पटक महिनावारी हुँदा झन्डै एक महिना अँध्यारोमा लुकाएर राखियो । त्यसले पढाइ र मानसिकतामै असर गर्‍यो । महिनावारीका कारण आफूले भोगेको जस्तो पीडा अरूलाई नहोस् भन्न उनले विद्यालय शिक्षा सकिएपछि अभियान चलाउने निधो गरिन् । नाम राखिन्– सुरक्षित महिनावारी अभियान । ‘मैले आफूले महिनावारीका सबै पीडा भोगें,’ उनले भनिन्, ‘त्यही पीडा अरूलाई नहोस् भनेर बुबाले सदरमुकाम बसेर पढ्न दिएको पैसाबाट अभियान सुरुवात गरें ।’ अभियानका क्रममा उनले बुझाउने प्रयास गरिन्, महिनावारी नियमित र प्राकृतिक कुरा हो । त्यो नहुनुभन्दा भएको राम्रो मान्नुपर्छ । पहिलो पटक महिनावारी हुँदा पीर र दुख होइन, खुसी र हौसला हुनुपर्छ । विद्यालयमा शिक्षक शिक्षिका र घरमा अभिभावकबाट महिनावारीसम्बन्धी सकारात्मक शिक्षा दिइनुपर्छ । त्यसका लागि आवश्यक सामग्री विद्यालयमै पनि उपलब्ध हुनुपर्छ ।

यही अभियानले अहिले उनलाई १ लाख रुपैयाँ राशिको राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुने अवसर दिएको छ । धेरै विद्यालयमा उनकै अभियानको प्रभावले सेनेटरी प्याड उपलब्ध हुन थालेको छ । विद्यालयमै रजस्वला हुँदासमेत छात्राले सहजै लिन थालेका छन् । सामाजिक रूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले आइतबार एक लाख राशिको उक्त पुरस्कारबाट उनलाई सम्मान गर्दैछ ।

गंगाले जिल्लाका झन्डै २५ विद्यालयमा पुगेर अभियान चलाइन् । हरेक विद्यालयका छात्रा उनको प्रशिक्षणपछि महिनावारीबारे सहजै खुल्न थालेको, यसलाई समस्याका रूपमा लिन छोडेको शिक्षा कार्यालयका स्रोत व्यक्ति लालबहादुर कुँवरले बताए । ‘प्रशिक्षण लिएका धेरै छात्रामा महिनावारीसम्बन्धी निकै सकारात्मक प्रभाव परेको छ,’ उनले भने, ‘कतिपय छात्रा अहिले आफै यो अभियानमा सक्रिय छन् ।’

पाँच वर्षमै अभियानले देशभर सार्थकता पाएको छ । ‘पाँच वर्षअघि सुरु गर्दा धेरैले पत्याएनन्, विदेशमा हुने साथीभाइ र रजस्वला बुझेका शिक्षित दिदीबहिनीबाट भएको थोरै सहयोगले सुरु गरें,’ खड्काले भनिन्, ‘अहिले शिक्षा मन्त्रालयदेखि स्थानीय तह सबैले नीति नै बनाएर कार्यक्रम गर्दैछन् ।’ उनले गुल्मीसहित पाल्पा, सुर्खेत, बैतडीलगायत जिल्ला पुगेर अभियान चलाइन् । सेवा सञ्चार नामक संस्थासमेत गठन गरिन् । तर, विदेशका केही साथीसंगीबाहेक कसैले सहयोग गरेनन् । राज्यबाट कुनै सहयोग नभएको उनले बताइन् ।

त्यही क्रममा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सन्जालसमेत गठन भएको छ । छात्रालाई महिनावारीसम्बन्धी अभिमुखीकरण, सञ्जाल गठन, सेनेटरी प्याड वितरण, विद्यालयमा अनिवार्य इन्सिनेटर (प्याड जलाउने स्थान) सहितको छात्रा शौचालय, प्याड वितरणका लागि विद्यालयमा फोकल शिक्षिकाको व्यवस्थालगायतमा उनको अभियान केन्द्रित छ ।

खड्काले गुल्मीको इश्मा गाउँपालिकाबाट अभियान सुरुवात गरेकी थिइन् । विद्यालयमा अहिले आफैं सेनेटरी प्याड र सचेतना अभियान चलाउन थालिएको गाउँपालिका अध्यक्ष विमला खत्रीले बताइन् । ‘गंगाले सुरु गर्दा हामीलाई नै यस्तो कुरा सिकाउन हिँड्ने भन्ने लाग्यो,’ उनले भनिन्, ‘अहिले बुझ्दै जाँदा निकै महत्त्वपूर्ण रहेछ ।’ गाउँपालिकाले सेनेटरी प्याड बनाउनेदेखि किशोरी र अभिभावकलाई सचेतनासम्मका कार्यक्रममा बजेट छुट्याएको उनले बताइन् ।

युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी महेन्द्रप्रसाद पौडेलले खड्काको अभियानले देशभरका छात्रामा महिनावारीसम्बन्धी सकारात्मक सोच, विद्यालयमा सेनेटरी प्याड र इन्सिनेटरको अनिवार्य आवश्यकता महसुस गराएको बताए । ‘त्यसकै प्रभावबाट खड्कालाई पुरस्कृत गर्न लागिएको हो,’ उनले भने, ‘उनको अभियानपछि शिक्षा विभागले हरेक विद्यालयमा निस्शुल्क सेनेटरी प्याड वितरण गर्न फोकल पर्सनका रूपमा शिक्षिका र इन्सिनेटर अनिवार्य गराएको छ ।’ अभियानबाट अहिलेसम्म ८० विद्यालयका १२ हजारभन्दा बढी छात्रा प्रत्यक्ष लाभान्वित भएका छन् ।

स्नातकसम्म अध्ययन सकेकी खड्कालाई अभियानमा लाग्न बाबुआमाकै प्रेरणा मिल्यो । बाबु स्वास्थ्यकर्मी र आमा महिला स्वयंसेविका हुन् । छोरीले सानैदेखि महिनावारीसम्बन्धी अभियान चलाउँछु भन्ने गरेको बाबु प्रेमबहादुर बताउँछन् । ‘छोरीले रजस्वला बार्ने चलन हटाउनुपर्छ, यस क्षेत्रमा काम गर्छु भनेपछि मैले केही कार्टुन सेनेटरी प्याड दिएँ,’ उनले भने । छोरीको सोच सकारात्मक लागेकाले सहयोग गरेको उनले बताए । सदरमुकाम तम्घासमा बसेर खडकाले अभियानसँगै पत्रकारिता गर्दै आएकी छन् । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);