काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सम्झौता पालना नगर्न चीनसँग आग्रह गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताका क्रममा यसबारे चीनलाई सचेत गराउनुभएको हो ।
दुई पक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालको लिपुलेक हुँदै चीन र भारतले व्यापारिक मार्ग खोल्न गरेको सम्झौता पालना नगर्न आग्रह गर्नुभयो । सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको र त्यसअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग भएको स्पष्ट पार्नुभएको प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार नेपाली भूभागहरु प्रयोग गर्नेगरी सम्झौता हुनु नहुने भन्दै ओलीले चीनले सम्झौता पालना गर्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । चिनियाँ राष्ट्रपति चिनिपिङले नेपालको दाबीलाई चीनले कमी हुन नदिने आश्वासन दिनुभयो । साथै नेपाल र भारतको सीमा विवाद दुई देशले बसेर समाधान गर्न पनि आग्रह गर्नुभएको सचिव राईले बताउनुभयो ।
सचिव राईकाअनुसार चिनियाँ राष्ट्रपतिले नेपालको दाबीमा चीनको कुनैपनि प्रकारको सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।





