माल्दिभ्समा संवैधानिक र राजनीतिक संकट उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माल्दिभ्समा संवैधानिक र राजनीतिक संकट उत्कर्षमा

एजेन्सी, २३ माघ । गतिरोध अन्त्यका लागि भन्दै राष्ट्रपति अब्दुल्ला यामीन अब्दुल गायूमले संकटकाल घोषणा गरेपछि माल्दिभ्समा राजनीतिक उथलपुथल चुलिएको छ । संकटकाल घोषणासँगै प्रहरीले प्रधानन्यायाधीश र न्यायाधीशलाई नै पक्राउ गरेपछि माल्दिभ्समा राजनीतिक संकट उत्कर्षमा पुगेको हो ।

गत शुक्रबार सर्वोच्च अदालतले पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई रिहा गर्न आदेश दिएको थियो । तर, राष्ट्रपति गायुमले सर्वोच्चको आदेश नमान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि संवैधानिक र राजनीतिक संकट चुलिएको हो । राष्ट्रपति गायूमले संकटकाल घोषणा गरेको केही घण्टामै माल्दिभ्स प्रहरीले प्रधानन्यायाधीश अब्दुल्लाह साइद र न्यायाधीश अलि हामिदलाई नै पक्राउ गर्‍यो । प्रहरीलाई सर्वोच्च अदालतमा पनि खटाइएको छ ।

विपक्षीसँग मिलेका पूर्वराष्ट्रपति माउमुन अब्दुल गायुमलाई पनि उनको घरमा बन्दी बनाएर राखिएको बताइएको छ । माल्दिभ्सका जनताले एक अर्कालाई सुरक्षित रहन भन्दै सन्देश पठाइरहेका बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति यामीनले सर्वोच्च अदालतले गत महिना राजनीतिक बन्दीहरूलाई रिहा गर्न र त्यहाँको विपक्षी सांसद्लाई पुर्नस्थापित गर्न दिएको आदेशको पनि अवज्ञा गरेका थिए ।

गत साता पनि सर्वोच्चले राजनीतिक बन्दीहरूको एउटा समूहलाई रिहा गर्न दिएको आदेशलाई गायूमले अस्वीकार गरेका थिए । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका देशका प्रहरी आयुक्तलाई पनि राष्ट्रपति यामिनले बर्खास्त गरिदिए । यो विवादलाई लिएर नै राष्ट्रपति गायूमले संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपतिको यो कदमको विपक्षी दलहरुले विरोध गरेका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले त्यहाँको सरकार र सेनालाई कानूनी शासनको सम्मान गर्न आग्रह गरेको छ । माल्दिभ्स सरकारले यसअघि पनि दुई पटक राजनीतिक संकटकाल घोषणा गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);