स्वरुप बदलिएको मानव बेचविखन र नयाँ खतरा | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

स्वरुप बदलिएको मानव बेचविखन र नयाँ खतरा

नेपालमा मानव बेचविखन पुरानै समस्या हो, तर समयसँगै यसको स्वरूप बदलिएको छ । अहिले भिजिट भिसाको दुरुपयोगमार्फत् हुने मानव बेचविखनको समस्या थप जटिल र गम्भीर बनेको छ । यो समस्यालाई कानुनी उपायले मात्र नभइ, सामाजिक, शैक्षिक र नीतिगत तहमा समग्र रूपमा समाधान गर्न आवश्यक छ ।

नेपालमा मानव बेचविखन नयाँ विषय होइन । दशकौँदेखि विशेष गरी महिला र बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतलगायतका तेस्रो देशमा बेच्ने कार्य चलिरहेको छ । गरिबी, अशिक्षा, बेरोजगारी र लैंगिक विभेदजस्ता कारणले नेपाली समाजमा मानव बेचविखनको जोखिम थप गहिरो हुन पुगेको छ । यस किसिमको अपराधका लागि सीमित स्रोत भएका र सामाजिक सुरक्षाको पहुँचबाहिर रहेका समुदायहरू दलालका प्राथमिक लक्ष्य बन्छन् ।

भौगोलिक दृष्टिले खुला सिमाना, कमजोर कानुनी कार्यान्वयन र दलालको सञ्जालले यो अपराधलाई थप बलियो बनाएको छ । तर पछिल्लो समय मानव बेचविखनको स्वरूप परिवर्तन हुँदै गएको छ । मानव बेचविखन पुरानो शैलीको सीमा पार गराउने माध्यममा सीमित छैन । पछिल्ला वर्षहरूमा भिजिट भिसाको दुरुपयोगमार्फत् मानव बेचविखन भइरहेको तथ्यहरू सतहमा आइरहेका छन् । रोजगार वा पर्यटक भिसामा खाडी, युरोप तथा श्रमका लागि सरकारले अनुमति नदिएका अन्य मुलुकहरू पठाइएर जबरजस्ती श्रम, यौन शोषण र अवैध गतिविधिमा संलग्न गराउने घटनाहरू बढ्दै गइरहेका छन् ।

पुरानो समयमा आर्थिक अवस्था ज्यादै कमजोर भएका व्यक्तिहरु अपराधीको निशानामा पर्ने गर्थे । तर अहिले मध्यम आर्थिक अवस्था भएका महिला तथा पुरुष पनि थप आर्थिक भविष्यको खोजीमा परेर बेचविखनको शिकार भइरहेका छन् । भिजिट भिसामार्फत् युवायुवती विदेश पठाउने कार्यमा कतिपय राजनीतिक उच्च तहमा रहेका नेताहरुनै सम्लग्न भएको समेत टिकाटिप्पणी भइरहेका छन् । जनताको सेवा गर्न राजनीतिको उच्च तहमा पुगेका नेताहरुसमेत यस्तो अपराधमा सम्लग्न भएकै हुन् भने जनताले कस्को भरोषा गर्ने ? गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

सरकारी तथ्याङ्क अनुसार पछिल्लो समय दुबई, कतार, कुवेतलगायतका देशहरूमा भिजिट भिसामार्फत् जाने नागरिकको संख्यामा अस्वाभाविक वृद्धि देखिएको छ । यीमध्ये धेरैजसो युवा, विशेष गरी महिलाहरु दलालको झूटो आश्वासनमा परेका हुन्छन् । यस्ता व्यक्तिहरूलाई भिजिट भिसामा पठाउन र गन्तव्यमा पुगेपछि पासपोर्ट खोस्ने, जबरजस्ती श्रम गराउने, तलब नदिने वा यौन शोषणमा पार्ने काम भइरहेको छ ।

नेपाल सरकार र सरोकारवाला निकायले मानव बेचविखनको नयाँ रणनीतिबारे सचेत हुन आवश्यक छ । केवल सीमामा निगरानी गरेर मात्र अब यो अपराध रोक्न सकिँदैन । अध्यागमन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै भिजिट भिसामा जानेलाई पूर्वअनुमतिमा पठाउने, दलालहरूको सूची सार्वजनिक गर्ने, पीडितको उद्धार र पुनःस्थापनामा सक्रिय भूमिका खेल्न आवश्यक छ । साथै, जनचेतनाको अभावका कारण युवायुवतीहरु सजिलै लालचमा परिरहेका छन् । विदेशमा सजिलो जीवनको सपना देखाएर दलालले फसाउने क्रम बढिरहेको छ । यसलाई रोक्न स्थानीय तहदेखि राष्ट्रिय तहसम्म जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । विशेष गरी युवालाई सुरक्षित वैदेशिक रोजगारीको प्रक्रिया, जोखिम र अधिकारबारे जानकारी दिनु अत्यन्त आवश्यक छ ।

नेपालमा मानव बेचविखनको इतिहास पीडादायक छ र अहिले त्यस्तो अपराध प्रविधिमैत्री बन्दैछ । अबको लडाइँ पुरानै शैलीको मात्र होइन, नयाँ स्वरूपको अपराधविरुद्ध पनि हो । सरकार, नागरिक समाज, सञ्चारमाध्यम र सम्पूर्ण समुदाय मिलेर यसलाई रोक्न सकिन्छ । मानव बेचविखन कुनै व्यक्तिगत समस्या होइन, यो हाम्रो समाजको असमानता, बेवास्ता र कमजोरीको प्रतिबिम्ब हो । यसको अन्त्यका लागि साझा प्रयास र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ । नेपाली नागरिकको जीवन, सम्मान र सुरक्षालाई प्राथमिकता दिएर मात्र यस्तो अपराधको अन्त्य सम्भव छ ।

Leave a Reply