काठमाडाैं । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ । तर यति धेरै सम्भावना हुँदाहुँदै पनि नेपालको पर्यटन क्षेत्र संरचनागत कमजोरी, नीतिनियमको कार्यान्वयनमा देखिएको समस्या तथा विभिन्न निकायबीच समन्वयको अभावले अपेक्षाकृत उकासिन सकेको छैन ।
नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि यसको दिगो विकास र समृद्धिमा अपेक्षाकृत प्रगति देखिएको छैन । अहिले पनि धेरै पर्यटकीय गन्तव्यहरु अज्ञात वा पूर्वाधारितविहीन अवस्थामा छन् । भौतिक पूर्वाधार, गुणस्तरीय सेवा र पारदर्शी सूचना प्रणालीको अभाव पर्यटन क्षेत्रको विकासमा प्रमुख बाधक बनेका छन् । रणनीतिक योजना नहुनु र पर्यटन प्रवर्द्धन दीर्घकालीन सोचको अभावले गर्दा नेपालको पर्यटन प्रवाह अझै पनि मौसमी र अनिश्चित नै बनेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुको जड बजेटको अभाव भएको बताए ।
पूर्वपर्यटन मन्त्री सुदन किराँतीले पर्यटन विकासका पूर्वाधार निर्माण नभइ जोशले मात्रै समभव नहुने बताए । घोडा जस्तै उफ्रिएर म विकास गर्छु भनेर मन्त्रीले भनेर मात्रै विकास नहुने उनको भनाइ छ ।
नेपालको पर्यटन क्षेत्रमा सुधार ल्याउन दीर्घकालीन रणनीति, पूर्वाधारको विकास, स्थानीय तहको सशक्तिकरण र आवश्यक बजेटको विनियोजन अपरिहार्य छ । पर्यटकले अनुभव गर्ने साना समस्यादेखि ठूला योजनासम्मको समन्वय गरी नेपाललाई सुरक्षित, समृद्ध र मैत्रीपूर्ण पर्यटकीय गण्तव्य बनाउनु अहिलेको आवश्यकता हो विकल्प होइन ।





