रुखका पातहरु झरेपनि जराहरु फेरिँदैनन्:
काठमाडौं, २२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । भारत जानुपूर्व उनले विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गरेका छन् ।
सोमबार भारत भ्रमणमा जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले ‘राष्ट्रले लिएका मान्यताहरु व्यवहारिक र सबैलाई मान्य हुनुपर्ने’मा जोड दिए ।
हिन्दुत्वको विषयमा आफूले खुला छलफल गर्न चाहेको उनको भनाई थियो । पूर्व राजा शाहले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नु परेपनि सिद्धान्त भने छोडन नहुने धारणा राखेका छन् । पूर्वराजा शाहले ‘रुखका पातहरु झरेपनि जराहरु फेरिन्न’ भन्दै दृष्टान्त पनि पेश गरे ।
पूर्व राजा शाह उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन् ।
भारत बसाईका क्रममा उनले भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा सहभागी हुने छन् । पूर्वराजा शाहले यस अघि नेपालगंजमा हिन्दु राज्यको पक्षमा वकालत गरेका थिए ।