एजेन्सी, २१ माघ । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
म्यानचेस्टर सिटी गएराति भएको खेलमा बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २२ औं मिनेटमा डानिलोको गोलमा अग्रता लिएको म्यानचेस्टर सिटीले अन्तिमसम्म अग्रतालाई निरन्तरता दिन सकेन । खल सकिन आठ मिनेट बाँकी छँदा बर्नलीका गुडमन्डसनले बराबरी गोल फर्काए । बराबरीसँगै म्यानचेस्टर सिटीको २६ खेलबाट ६९ अंक भएको छ भने बर्नली ३६ अंकसहित सातौं स्थानमा यथावत छ ।
म्यानचेस्टर सिटी बराबरीमा रोकिंदा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डमाथि २–० को जित दर्ता गरेको छ । म्यानचेस्टर युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि रोमेलु लुकाकु र एलेक्सि सान्चेजले एक एक गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको दूरी १३ अंकमा घटाएको छ ।
त्यस्तै आर्सनलले एभरटनमाथि ५–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । आरोन राम्जीको ह्याट्रिकमा आर्सनलले फराकिलो जित दर्ता गरेको हो । खेलको छैटौं मिनेटमा पहिलो गोल गरेका राम्जीले १९ र ७४ औं मिनेटमा गोल थपेर ह्याट्रिक पूरा गरेका हुन् । जितसँगै आर्सनलको ४५ अंक भएको छ ।
गएराति नै भएका अन्य खेलमा ब्राइटनले वेस्टह्यामलाई ३–१, बर्नमाउथले स्टोक सिटीलाई २–१ र साउथह्यामटनले वेस्ट ब्रोमलाई ३–२ ले पराजित गरेका छन् । आठौं स्थानको लेस्टर सिटी भने १७ औं स्थानको स्वान्सीसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।