काठमाडौँ,२१ माघ । प्रदेश सभा बैठकको सम्पूर्ण तयारी शनिबार राति पूरा भएको छ । सभाहलमा प्रदेश सभा सञ्चालनसम्बन्धी रिहर्सलसमेत गरिएको छ । तयारीका क्रममा केन्द्रीय संसद् सचिवालयबाट आएका सहसचिव सुरेन्द्र अर्याल, उपसचिव रामकुमार पौडेल, शाखाअधिकृत सावित्रा शर्मा भुसाल, प्राविधिक सुरेन्द्र महतसहितको टोली शनिबार रातिसम्म खटेको थियो । पहिलो बैठकमा पाँचवटा कार्यसूची प्रस्तुत हुनेछ ।
सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरसहितको टोेली बैठकको तयारीमा निकै व्यस्त थियो । ८७ सांसदका लागि झन्डै एक सय कुर्सी राखिनेछन् । सांसदका लागि सामान्य लेख्न मिल्ने कुर्सी ल्याइए पनि उनीहरूका अगाडि टेबल भने हुनेछैनन् । पहिलो सभा सञ्चालनका लागि शनिबार मध्यरातसम्मै हलबाहिर र भित्र सिँगार्ने काम गरिएको थियो । हलको बाहिर र भित्र फूलमालाले सजाइएको छ ।
यस्तो बनाइएको छ प्रदेश सभाकक्ष
प्रदेश सभाभित्र १५ जना मर्यादापालक खटिनेछन् । महिला मर्यादापालकको संख्या पाँच रहेको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीका अनुसार उनीहरूलाई आवश्यक तालिम प्रदान गरिएको छ । त्यस्तै, हलभित्र सभामुखको ड्यासमा कुर्सी रहनेछ । साइडमा प्रदेश प्रमुखको कुर्सी राखिनेछ । दायाँपट्टि प्रदेश सभा सचिवको कुर्सी रहनेछ ।
आगन्तुकलाई डेढ सय कुर्सी
प्रदेश सभा सदस्यका लागि आकासे निलो रङको कभर भएका कुर्सीको व्यवस्था गरिएको छ । ८७ सांसदका लागि ९६ कुर्सीको व्यवस्था गरिएको छ । ती कुर्सीभन्दा पछाडि बार लगाएर पछाडिपट्टि १६४ कुर्सी पत्रकार तथा आगन्तुकका लागि व्यवस्था गरिएको छ ।
यस्तो छ कार्यसूची
आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । सहसचिव अर्यालका अनुसार कार्यसूचीमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र दलका प्रतिनिधिलाई बोल्न दिइनेछ । ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलका अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलबाट एक–एकजना सदस्यलाई मात्रै बढीमा १० मिनेट बोल्न दिइने कार्यक्रम छ ।
सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पोखरेलले प्रदेश ५ को प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको सहसचिव अर्यालले बताए ।
यस्तै, सभामुखको भूमिकामा रहेका पोखरेलले अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र सभामुखको निर्वाचन तोक्ने कार्यसूची छ । प्रदेश ५ मा सभामुख चयनका लागि २७ माघमा उम्मेदवारी दर्ता गर्ने सहमति दलहरूबीच भइसकेको छ ।
प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको कार्यसूची सामान्य छ । यो प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ दलले प्रदेशको हित जोडिने विषयमा कुनै सामूहिक प्रतिबद्धता जनाउने विषयलाई प्राथमिकतामा राखेका छैनन् ।
यस्तो विषयको कार्यसूची नै छैन । इतिहासमै पहिलो बैठकलाई ऐतिहासिक बनाउन दलहरूले केही विशेष घोषणा गर्ने तयारी छैन । यही प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद पूर्ण घर्तीले विशेष घोषणा केही नहुने जानकारी दिए ।
‘संघीयताको पिलर गाड्न सफल भएका छौँ । जनताको मनोभावनाअनुसार समृद्ध ५ नम्बर बनाउन सामूहिक प्रतिबद्धता जनाउनुपर्ने हो । पहिलो बैठकमा यस्तो कार्यसूची छैन, तर नेताहरूले सम्बोधन गर्दा यस्तो विषय पार्न सक्नुहुन्छ,’ घर्तीले भने, ‘प्रक्रियामा गएपछि, छलफल गरेपछि सभामुख चयन भएपछि संसद्ले विशेष घोषणा गर्छ ।’ कांग्रेस सांसद निर्मला क्षेत्रीले पहिलो बैठकलाई विशेष र ऐतिहासिक बनाउने गरी सामूहिक घोषणा केही नहुने बताइन् ।
यसरी समृद्ध बन्न सक्छ प्रदेश ५
विष्णु पौडेल, एमाले उपमहासचिव
संसारमा जसले नेपाललाई चिन्दैन, त्यसले लुम्बिनी चिन्छ । जसले नेपाली चिन्दैन, त्यसले गौतम बुद्धलाई चिन्छ । त्यसैले लुम्बिनीको महत्व धेरै छ । लुम्बिनीका साथै बर्दिया राष्ट्रिय निकुञ्ज, एसियाकै महत्वपूर्ण उपत्यका दाङ भ्याली, महत्वपूर्ण पर्यटकीयस्थल स्वर्गद्वारी, पाल्पाको रानीमहल, ऋषिहरूले तपस्या गरेका स्थलहरू, अन्तर्राष्ट्रिय विमानस्थललगायतले यो प्रदेशमा विकासको राम्रो सम्भावना छ ।
बालकृष्ण खाण, कांग्रेस नेता
प्रदेश ५ को सीमा कर्णाली नदीसम्म जोडिएको छ । राप्ती नदी यसै प्रदेशमा पर्छ । कालीगण्डकीसँग सीमा जोडिएको छ । साना नदी, खोला पनि प्रशस्तै छन् । जलसम्पदाको हिसाबले पनि यो प्रदेशले सम्भावना बोेकेको छ । उद्योगधन्दालाई अझै बढी रोजगारीको केन्द्र बनाउन सकिन्छ । शिक्षा र स्वास्थ्यको हब बन्न सक्छ । यस्ता सम्भावनाले यो प्रदेश देशकै अग्रणी बन्न सक्छ ।
विश्लेषकका नजरमा प्रदेश ५ उज्ज्वल छ प्रदेश ५ को भविष्य
डिआर घिमिरे, वरिष्ठ पत्रकार
यो प्रदेश पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण छ । अन्य प्रदेशको तुलनामा यसको भविष्य सुन्दर छ । योजनाबद्ध रूपमा पर्यटन र कृषिको विकास गर्न सकियो भने विकासमा धेरै योगदान पुग्छ । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा संसारभरका धेरै पर्यटक भित्र्याउन सकिने गरी पर्यटन विकासमा जुट्नुपर्छ ।
पर्यटन विकासका लागि पूर्वाधारको विकास जरुरी छ । सेवामूलक क्षेत्रको विकासमा पनि विशेष ध्यान दिनुपर्छ । जसका लागि स्तरीय होटेलहरू बढाउनु जरुरी छ । दोस्रो प्राथमिकतामा कृषिलाई लिनुपर्छ । कृषिको विकासका लागि व्यावसायिक खेतीमा जोड दिनुपर्छ । जलस्रोतबाट पनि राम्रो विकासको सम्भावना छ ।
जलस्रोत र पर्यटनले धनी प्रदेश
प्रा.डा. भोजराज कडेरिया
भौगोलिक, सामाजिक, आर्थिक सबै हिसाबले यो प्रदेश सशक्त छ । १२ जिल्ला नै हरेक किसिमले महत्वपूर्ण छन् । प्रदेशमा रहेका विभिन्न नाकाका कारण राजस्व संकलनमा पनि महत्वपूर्ण योगदान पुग्छ । कृषिमा पनि धेरै राम्रो सम्भावना छ । बाँके, बर्दिया, दाङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु कृषिका लागि धेरै राम्रा जिल्ला हुन् । बुटवल तथा नेपालगन्जमा औद्योगिक विकास बढ्दो छ, यसले प्रदेशको आर्थिक विकासमा टेवा पुर्याउँछ ।
सम्भावना प्रशस्तै खाँचो समझदारीको
कुलप्रसाद केसी सोनाम, प्रदेश सांसद, माओवादी
प्रदेश ५ मा थोरै हिमालदेखि, पहाड, मधेस, तराईसम्मको प्रशस्तै सम्भावना भएको भूगोल र जमिन छ । हामीसँग अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र लुम्बिनी छ । लाखौँ बौद्धमार्गीलाई ल्याएर तथा आन्तरिक पर्यटनबाट पनि उत्तिकै लाभ लिन सकिन्छ ।
सिस्ने जलजला पहाडदेखि हामीसँग जलविद्युत्को पनि उत्तिकै सम्भावना छ । सबैका लागि यो प्रदेशबाट प्रतिनिधित्व गर्ने दलबीच राजनीतिक एकता हुन जरुरी छ । एकता र समझदारी हुँदा हामी प्रदेशहरूमध्ये धनी बन्न सक्छौँ ।
सबै मिले प्रदेश समुन्नत बन्छ
यो प्रदेशमा विश्वमै परिचित पर्यटकीय क्षेत्र लुम्बिनी छ । जल, जमिन, जंगलको समुचित प्रयोग गर्न सक्ने हो भने हामी अरू प्रदेशको तुलनामा चाँडै यो प्रदेशलाई समुन्नत बनाउन सक्छौँ । तर, यसका लागि यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने दलहरूबीच एकता र समझदारी भने आवश्यक पर्छ । वाम गठबन्धनले बहुमतका कारण कांग्रेसलाई पेल्ने र कांग्रेसले रचनात्मक काममा पनि असहयोग गर्ने नीति त्याग्नुपर्छ । सबै मिलेर गरे भने राम्रै हुन्छ ।आजको नयां पत्रिकामा खवर छ ।




