आज यसरी बस्दै छ पोखरामा प्रदेश सभा बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज यसरी बस्दै छ पोखरामा प्रदेश सभा बैठक

पोखरा, २२ माघ । प्रदेश ४ को ऐतिहासिक पहिलो प्रदेश संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार ११ बजे बस्ने संसद् बैठकका लागि आइतबार नमुना अभ्यास (रिहर्सल) समेत गरी तयारी पूरा गरेको हो । ६० जना सांसदमध्ये ५७ जनाले संसद् भवनमै उपस्थित भएर रिहर्सल गरे ।

पोखरा–लेखनाथ महानगरपालिका–३ नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्दै छ । बैठकमा कुनै कमजोरी नहोस् भनेर आइतबार नै नमुना अभ्यास (रिहर्सल)समेत गरिएको प्रदेश मुख्यसचिव लक्ष्मण अर्यालले बताए । सोमबार हुने पहिलो प्रदेश संसद् बैठकको अध्यक्षता संसद्का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ गर्नेछन् ।

प्रदेश ४ को सभामुख र उपसभामुखको निर्वाचन मिति सोमबार तोकिने भएको छ । पहिलो संसद् बैठक बस्नुभन्दा १ घन्टाअगाडि बस्ने तय भएको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रदेश संसद्को सुरक्षा प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । संसद् भवनमा दुईतहको सुरक्षा व्यवस्था गरिएको छ । भित्र मर्यादापालकले र बाहिर प्रहरीले सुरक्षा दिनेछन् । सभाहलमा दर्शकदीर्घामा बस्ने दर्शक, आमन्त्रित व्यक्तित्व, प्रदेश सरकारका कर्मचारी र पत्रकार बस्ने गरी व्यवस्थापन भएको छ । संसद् सचिवालयमा मिडिया सेन्टर स्थापना गरिएको छ । संघीय संसद्मा गरिएका अभ्यासहरू सबै प्रदेश संसद्मा रहेको मुख्यसचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

संसद्को पहिलो बैठकका लागि १६ जना मर्यादापालक खटिँदै छन् । जसमा १२ पुरुष र ४ महिला छन् । प्रहरी निरीक्षक लिलाराज लामिछानेको नेतृत्वमा मर्यादापालक टोली खटिएको छ । टोलीमा १ जना प्रहरी सहायक निरीक्षक र ७ प्रहरी हवल्दार र ६ जना जवान खटिँदै छन् । यसअघि ३० जना मर्यादापालक खटाउने तयारी भए पनि सामान्य अवस्थामा संसद् चल्ने अनुमान गरी संख्या घटाइएको हो ।

संसद् बैठकमा सांसदलाई बोल्नका लागि ३५ वटा माइकको व्यवस्था गरिएको छ । एउटा माइकले दुईजनालाई पुग्ने गरी माइकको व्यवस्था गरिएको छ । त्यसैगरी ३ जनालाई एउटै टेबलमा लेख्न मिल्ने गरी व्यवस्थापन गरिएको छ ।

दर्शकदीर्घा, आमन्त्रितसहित ८० जना अट्ने गरी नयाँ कुर्र्सीको व्यवस्था गरिएको छ भने सांसदहरूका लागि पुरानै कुर्सी नै व्यवस्थापन भएको छ । प्रदेश सभा सांसद औपचारिक पोसाकमा पहिलो बैठकमा सहभागी हुनेछन् । अर्यालका अनुसार मर्यादित र भद्र पोसाक लगाएर संसद्मा आउनुपर्ने छ ।

प्रदेश ४ को संसद् सचिवालयका लागि कुल २७ जना कर्मचारी खटाइएको भए पनि अझै आधाभन्दा बढी संसद् भवनमा आइपुगेका छैनन् । प्रदेश संसद् सचिवालयका उपसचिव नगेन्द्रराज पौडेलका अनुसार आइतबारसम्ममा १३ जना कर्मचारी मात्र हाजिर भएका छन् ।

त्यसमध्ये उपसचिव ४ जना, शाखा अधिकृत ४ जना, नायब सुब्बा ३ जना र कार्यालय सहयोगी २ जना रहेका छन् । ‘कर्मचारी प्रर्याप्त नहुँदा तत्कालीन व्यवस्थापनका लागि गाह्रो भइरहेको छ’ उपसचिव पौडेलले भने ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);