रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने

rasuwa ma diesel

रसुवा,१९ माघ । रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने भएको छ । जिल्लामा प्रयोग हुँदै गरेका प्लास्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो ।

दैनिक जीवनमा प्रयोग बढ्दै गएको प्लास्टिकबाट डिजेल उत्पादन गर्नका लागि गोसाइँकुण्ड गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको छ । डिजेल उत्पादन गर्न प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । तामाङका अनुसार प्लान्ट स्थापनाका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुनेछ । जिल्लालाई प्लास्टिकमुक्त जिल्ला बनाउन यसले सहयोग पुग्ने उनले बताए ।

उनले भने, ‘स्थानीय तहलाई आम्दानीको स्रोत जुटाउन सहयोग पुग्छ र जिल्ला प्लास्टिकमुक्त भएर सफा पनि हुन्छ ।’एउटामात्र प्लान्टबाट उत्पादन भएको डिजेल सवारी साधनमा भने प्रयोग गर्न नमिल्ने अध्यक्ष तामाङको भनाइ थियो । ‘सिधै गाडीमा प्रयोगका लागि दुईवटा प्लान्ट स्थापना गर्नुपर्छ,’ तामाङले भने, ‘सामान्य प्लान्ट बनाउनका लागि १५ लाख रुपैयाँ लाग्छ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका टोलीले जिल्लाको स्याफ्रुमा डिजेल उत्पादनको परीक्षण गरेर देखाएको छ । मंगलबार टोलीले एक किलो प्लास्टिकबाट ६ सय एमएल डिजेल उत्पादन गरेर देखाएको हो । अध्यक्ष तामाङका अनुसार नास्टले प्रदर्शनमा प्रयोग गरेको प्लान्टमा एक पटकमा एक लिटर डिजेल उत्पादन गर्न क्षमताको थियो ।एक किलो प्लास्टिकबाट एक लिटर डिजेल उत्पादन हुन्छ । यसका लागि करिब दुई घन्टा लाग्छ । गाउँपालिकाले स्थापना गर्न लागेको प्लान्टमा भने एक पटकमा १० लिटर उत्पादन गर्न सकिने बताइएको छ ।आजको नागरिक दैनिकमा खवर छ ।

ताजा समाचार