एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै: सभामुखमा पनि दर्जन आकांक्षी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै: सभामुखमा पनि दर्जन आकांक्षी

umale party office

काठमाडौं, १७ माघ । एमालेले चुनावी प्रतिस्पर्धाबाटै प्रदेश सभा संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि उसले कार्यविधिसमेत बनाएको छ । स्थायी समितिको मंगलबारको बैठकले दलको नेता चुन्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभा दललाई दिएको छ । एमालेको यो निर्णयअनुसार सातवटै प्रदेशमा दलको नेता सर्वसम्मत या चुनावमध्ये एउटा विधिबाट प्रदेश संसदीय दलबाट चुनिनेछन् ।
एमालेले राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै २४ माघपछि दलको बैठक राखेर नेता छान्न निर्देशन दिएको छ । दलको तर्फबाट प्रदेश सभामा निर्वाचित ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक आयोजना गर्ने, तीन सदस्यीय निर्वाचन कमिटी गठन गर्ने र दलको नेता चयन गर्ने स्थायी समितिले बनाएको कार्यविधिमा उल्लेख छ ।

मुख्यमन्त्रीको आकांक्षी नेता बन्ने दौडमा
प्रदेश सभा दलको नेता मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले एमालेभित्र धेरै नेता आकांक्षी छन् । प्रदेश नम्बर ५ मा दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीको एकल उम्मेदवार बन्ने निश्चित देखिए पनि माओवादी केन्द्रसँगको बाँडफाँटपछि एमालेले नेतृत्व गर्ने प्रदेश १, ३ र ४ मा मुख्यमन्त्री बन्न संसदीय दलका नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

प्रदेश १ मा सचिव तथा प्रदेश संयोजक भीम आचार्य र प्रदेश सहसंयोजक शेरधन राई, प्रदेश ३ मा उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू पशुपति चौंलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानु श्रेष्ठलगायत दलको नेताको आकांक्षी छन् । पार्टीको उच्च तहको नेता, लैंगिक र जातीय सन्तुलनका कारण शाक्यलाई बनाउनुपर्ने दबाबमा नेतृत्व रहे पनि अन्य नेताहरूले पनि सशक्त दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

प्रदेश ४ मा सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीको नेतृत्व नपाए पनि प्रदेश २, ६ र ७ मा प्रदेश सभाको बैठकमार्फत एमालेले दलको नेता चयन गर्नेछ । २ मा प्रदेश संयोजक सत्यनारायण मण्डल, ६ मा पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेल तथा ७ मा केन्द्रीय सदस्य प्रकाश शाह दलको नेताको मुख्य आकांक्षी छन् ।

सर्वसम्मत छान्न अष्टलक्ष्मीको माग
प्रदेश नम्बर ३ की मुख्यमन्त्रीकी आकांक्षी अष्टलक्ष्मी शाक्यले प्रदेश सभा संसदीय दलको नेता स्थायी समितिको प्रयासमा सर्वसम्मत छान्नुपर्ने धारणा राखेकी छिन् । मंगलबारको बैठकमा नेतृत्वको ध्यानाकर्षण गराउँदै उनले संघीयताको पहिलो पटक अभ्यास भइरहेको र नयाँ संरचनामा प्रदेश सरकार बन्न लागेकाले सर्वसम्मत दलको नेता र मुख्यमन्त्रीको उम्मेदवार चुनिँदा काम गर्न सहज हुने र सकारात्मक सन्देश प्रवाहित हुने उनको भनाइ थियो । ‘मेरो जोड जो बन्दा पनि सर्वसम्मति होस् भन्नेमै छ, शाक्यले भनिन्, ‘राष्ट्रिय सभाको निर्वाचन सकिएपछि एकपटक प्रयास गर्ने नेताहरूले बताउनुभएकाले त्यस निम्ति प्रयास हुन्छ होला ।’

सभामुखमा पनि दर्जन आकांक्षी
प्रदेश १ मा हिक्मत कार्की, राजेन्द्र राई, जीवन घिमिरे, उषाकला राई, खिनु लिम्बू, कला घलेलगायत सभामुखको आकांक्षी छन् । प्रदेश २ मा मधेस केन्द्रित दलको बहुमत रहेकाले एमालेले मुख्यमन्त्री र सभामुखमा ध्यान दिएको छैन । प्रदेश ३ मुख्यमन्त्रीका आकांक्षीबीच सहमति भए राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौंलागाईं, सानुकुमार श्रेष्ठ या डोरमणि पौडेलमध्ये एकजना सभामुख बन्ने गरी छलफल हुने एक नेताले बताए । मुख्यमन्त्रीका आकांक्षी सभामुखका लागि तयार नभए पौडेलको नाममा सर्वसम्मति हुनसक्ने सम्भावना देखिएको स्रोतले जनाएको छ । त्यस्तै, प्रदेश ६ र ७ मा भने एमालेले सभामुखका विषयमा छलफल चलाइसकेको छैन । यद्यपि, ७ मा अर्जुन थापा, पठानसिंह बोहरा, लालबहादुर खड्का, बलदेव रेग्मीलगायतमध्येबाट एकजनालाई उम्मेदवार बनाउने गरी छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);