काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।
पछिल्लो मापन अनुसार सबैभन्दा धेरै पाल्पा, चितवन, तनहुँ, गोरखा र नवलपुरमा १ सय मिलिमिटरभन्दा धेरै पानी परिसकेको छ ।
लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै तनहुँको मर्स्याङ्दी नदी बिमलनगर जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बन्दीपुरको बिमलनगरदेखि तल्लो नदी तटीय क्षेत्र आँबुखैरनीसम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
नवपलपुर, रुपन्देही, पाल्पा र गोरखामा पनि ठूलो पानी परेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले शनिबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरेको छ । विभागका अनुसार देशको पूर्वी र मध्य भागका धेरैजसो जिल्लामा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जोखिम छ ।
विशेषगरी गण्डकी प्रदेशमा मुसलधारे पानी परेको छ । मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर ठाउँको आसपास र पूर्वमा सरदरभन्दा उत्तरतर्फ रहेको र मनसुन न्यूनचापीय रेखा नेपालतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने भन्दै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । ०००